देवदह । एसइई परिक्षा २०८१ मा दुई विद्यार्थीको ४ जिपिएसहित शतप्रतिशत नतिजा हासिल गरेको देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले आइतबार अविर जात्रा गरेको छ । विद्यार्थी, अभिभावक, शिक्षक, व्यवस्थापन समिति सदस्य र शुभेच्छुकहरूको सहभागितामा निकालिएको र्यालीले देवदह परिक्रमा गरेको विद्यालयले जनाएको छ ।
विद्यालयबाट सुरु भएको र्याली प्रगतिबजार, नगरपालिका कार्यालय, भवानीपुर, शीतलनगर चोक, घोडाहा हुँदै पुनः विद्यालयमै पुगेर समापन भएको थियो । जात्रामा सहभागी विद्यार्थी तथा अभिभावकलाई अविरसहित खादा र माला लगाई सम्मान गरिएको थियो ।
संचारकर्मीसंग बोल्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद गैरेले एसइईमा ५१ जना सहभागीमध्ये दुई विद्यार्थी विवेक भूषाल र आर्यन पाण्डेले ४ जिपिए प्राप्त गरेको जानकारी दिएका थिए । उनका अनुसार २१ जना विद्यार्थीले ३.६ भन्दा माथि जिपिए ल्याएका छन् । यो नतिजा विद्यालय स्थापनाको १५ औं ब्याचमै अहिलेसम्मकै उत्कृष्ट रहेको उनको भनाइ छ ।
गैरेका अनुसार ४ जिपिए ल्याउने विद्यार्थीलाई नगद २५ हजार, ३.८ देखि ३.९९ ल्याउनेलाई १० हजार, ३.६ देखि ३.७९ ल्याउनेलाई ५ हजार रुपैयाँ नगदसहित गोल्डमेडल र प्रमाणपत्र प्रदान गरिनेछ । ३.२ देखि ३.५९ जिपिए ल्याउने विद्यार्थीलाई गोल्डमेडल र सम्मानपत्र दिइने विद्यालयले जनाएको छ ।
विद्यालयले देवदह क्षेत्रमा यसपालि ४ जिपिए ल्याउने विद्यार्थी आफूहरूको मात्रै भएको उल्लेख गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षामा अझ धेरै काम गर्ने जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology