काठमाडौं । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि मनाउने गरिन्छ ।
कामको व्यस्ततामा रहँदा थकित हुने किसानले दही चिउरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार १५ मनाउने गर्छन् ।
विसं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णयबाट २०६२ साल असार १५ गतेदेखि नेपालमा राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसले पेसाको रुपमा खेतीपाती गर्नेगर्छन् ।
हरेक किसानले वर्षभरका लागि छाक जुटाउन असार महिनाभर खेतीमा व्यस्त रहने गर्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।
अत्याधिक गर्मी हुने यो समयमा बर्षा हुँदा सितलता मिल्ने गर्दछ । पानीमा भिज्दै युवा बाउसे,हलि र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर समेत मनोरञ्जन गर्ने गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहिआएको छ ।
यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा बर्षा हुन नसक्दा जति धान रोपाइँ लाई प्रभावित बनेको छ ।
देशका अधिकांशको मुख्य पेशा कृषि रहेपनि हरेक बर्ष मलको अभावमा किसान चिन्तित हुनुपर्ने बाध्यता छ । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology