देवदह । देवदह नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६३ करोड ८८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १६औँ नगर सभामा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले प्रस्तुत गरेको विनियोजन विधेयकले शिक्षा, पूर्वाधार, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण संरक्षण र सुशासनमा विशेष जोड दिएको छ ।
नगरसभामा प्रस्तुत बजेट वक्तव्यमार्फत उपप्रमुख गुरुङले संविधान, नीति तथा योजना, स्थानीय आवश्यकता, जनअपेक्षा, समावेशी अभ्यास र दिगो विकासका लक्ष्यलाई मार्गदर्शकका रूपमा लिँदै बजेट निर्माण गरिएको बताइन् । उनले बजेट सन्तुलित, समन्वयात्मक र आगामी पुस्तालाई उत्तरदायी हुने ढंगले तयार गरिएको उल्लेख गरिन् ।
नगरपालिकाको बजेटले जनताको आधारभूत सेवा पहुँच, स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना, सामाजिक न्याय र नगरको आन्तरिक क्षमता वृद्धिमा केन्द्रित उद्देश्य समेटेको छ । समावेशी सशक्तिकरण, भूमिहीन र सुकुम्बासीको व्यवस्थापन, गुणस्तरीय शिक्षा–स्वास्थ्य, वातावरण संरक्षण, संस्थागत पारदर्शिता, तथा पूर्वाधार विकासमार्फत नगरको दिगो विकास सुनिश्चित गर्ने लक्ष्य लिएको उपप्रमुख गुरुङको भनाइ छ ।
बजेटका आठ प्राथमिक क्षेत्र
बजेट वक्तव्यमा प्रस्तुत अनुसार नगरको आगामी वर्षको प्राथमिकता यसप्रकार छन् -
कुल आय अनुमान र स्रोत
देवदह नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित कुल आय रु. १ अर्ब ६३ करोड ८८ लाख रहेको छ । यसमध्ये आन्तरिक राजस्वबाट रु. २१ करोड ८६ लाख ४६ हजार उठाउने लक्ष्य राखिएको छ ।
संघीय सरकारबाट अनुदान, पूँजीगत सशर्त अनुदान र सामाजिक सुरक्षालगायत शीर्षकमा रु. ८५ करोडभन्दा बढी प्राप्त हुने अनुमान छ । यसबाहेक लुम्बिनी प्रदेश सरकार, सडक बोर्ड र शहरी उत्थान कार्यक्रम (URLIP) अन्तर्गत ऋण तथा साझेदारीबाट समेत बजेट व्यवस्थापन गरिएको छ ।
विनियोजन विवरण र मुख्य क्षेत्रगत बजेट
१. शिक्षा:
सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरिएको छ। कुल रु. २६ करोड ९ लाखको बजेट शिक्षामा छुट्याइएको छ । यो रकम विद्यालयमा दरबन्दी पूर्ति, छात्रवृत्ति, परीक्षा प्रणाली सुधार, विद्यालय ग्रीन स्पेस, विज्ञान शिक्षाका लागि पूर्वाधार निर्माण, नि:शुल्क सेनेटरी प्याड, प्रतियोगितात्मक क्रियाकलापजस्ता कार्यक्रममा खर्च गरिनेछ ।
२. स्वास्थ्य:
रु. ४ करोड ५७ लाख बजेट छुट्याइएको स्वास्थ्य क्षेत्रमा आधारभूत र आकस्मिक सेवा, औषधोपचार सामग्री खरिद, स्वास्थ्य बीमा अभियान र नागरिकको सहज पहुँचमा केन्द्रित कार्यक्रम संचालन गरिने उल्लेख छ ।
३. पूर्वाधार:
पूर्वाधार निर्माण तथा मर्मतको लागि कुल रु. ६३ करोड ६० लाख विनियोजन गरिएको छ। यसमध्ये शहरी उत्थान कार्यक्रम अन्तर्गत ५२ करोड ३९ लाखको लगानी नगर–संघीय साझेदारीमा हुनेछ। अस्पताल, सडक, खानेपानी, विद्युत, विद्यालय संरचना र सिँचाइ पूर्वाधारमा समेत बजेट केन्द्रित गरिएको छ ।
४. भूमि व्यवस्थापन:
सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहीनलाई जग्गा प्रमाणपत्र दिने, व्यवस्थित बसोबास सुनिश्चित गर्ने कार्यमा रु. २ करोड छुट्याइएको छ ।
५. कृषि:
कृषि उत्पादन, बजार व्यवस्थापन, कृषि उपकरण, बिजुली सुविधा तथा कृषक सशक्तीकरणका लागि कुल रु. ४५ लाख ३५ हजार छुट्याइएको छ । पशुपालन क्षेत्रमा रोग नियन्त्रण, औषधोपचार, बाँझोपन न्यूनीकरण, वंगुर पकेट विकासलगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।
६. लक्षित समूह सशक्तीकरण:
महिला, दलित, आदिवासी, मधेसी, मुस्लिम, अपांग, द्वन्द्वपीडित तथा पिछडिएको वर्गको सशक्तीकरणका लागि उपप्रमुखसँग महिला कार्यक्रम लगायत रु. ५३ लाख बजेट विनियोजन गरिएको छ ।
७. वातावरण र विपद् व्यवस्थापन:
हरित नगर निर्माण, वृक्षरोपण, फोहोर व्यवस्थापन, जलवायु सजगता तथा प्राकृतिक विपद् व्यवस्थापनका लागि रु. ६२ लाख ५० हजार छुट्याइएको छ ।
८. सुशासन र संस्थागत विकास:
नगर प्रशासन, सेवा प्रवाह, उत्तरदायित्व विकास, सूचना व्यवस्थापन र आन्तरिक राजस्व प्रणाली सुधारका लागि रु. १७ करोड १६ लाख विनियोजन गरिएको छ ।
९. वडागत बजेट:
देवदह नगरका १२ वटै वडामा रु. १–१ करोडका दरले कुल रु. १२ करोड वडागत कार्यक्रमका लागि छुट्याइएको छ ।
उपप्रमुख गुरुङले बजेट कार्यान्वयनमा संघीय सरकारबाट हुने ढिलासुस्ती, आन्तरिक राजस्व संकलनमा अवरोध, स्रोतको सीमितता, ऋण व्यवस्थापनको चुनौती, जनअपेक्षा र बजेटको तालमेल अभावजस्ता विषयहरूलाई चुनौतीको रूपमा औँल्याएकी छन । योजनाबद्ध कार्यान्वयन, संस्थागत समन्वय र नागरिक सहभागितामार्फत ती चुनौतीहरूसमेत सम्बोधन गरिने उनको भनाई छ ।
हेर्नुहोस् पूर्णपाठ :
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology