काठमाडौँ । असार महिनाको सुरुवातसँगै देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरूमा अवरुद्ध हुने क्रम सुरु भएको छ । नेपाल प्रहरीको अनुसार शनिबार बिहान ९ : ५० बजेसम्म प्राप्त विवरणअनुसार केही सडक अझै पूर्ण अवरुद्ध छन् भने केही सशर्त रूपमा सुचारु भएका छन् ।
संखुवासभाको भोटखोला–४ स्थित बरुण खोलामा कोशी राजमार्ग असार ६ गते आएको पहिरोका कारण अहिलेसम्म पनि पूर्ण रूपमा अवरुद्ध छ । स्थानीय स्तरमा सफाइको प्रयास भइरहेको भए पनि सडक खुलाउने ठोस प्रगति भएको छैन ।
सिन्धुलीको खुर्कोटबाट काठमाडौँतर्फ जाने बीपी राजमार्ग बेलुकी ६ः३० बजेदेखि बिहान ५ बजेसम्म पूर्ण रूपमा बन्द गरिएको छ । असार ६ देखि २० गतेसम्म यो व्यवस्था लागू गरिएको हो । लगातारको वर्षाले पहिरो तथा अन्य विपद् हुनसक्ने भएकाले सुरक्षाको दृष्टिकोणले यो निर्णय गरिएको जनाइएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी–३ लार्चास्थित अरनिको राजमार्ग असार ३ गते ह्युमपाइप बगाएपछि अबरुद्ध भएको थियो । असार ६ गतेबाट निर्माणाधीन बेलिब्रिजमार्फत साना सवारीलाई आवागमन खुला गरिएको छ । ठूला सवारीका लागि भने अझै बाटो खुला गरिएको छैन । भारवहन परीक्षण भएपछि मात्र ठूला सवारी सञ्चालन हुने जनाइएको छ ।
यस्तै नवलपरासी (पूर्व) को विनयी त्रिवेणी गाउँपालिकाभित्र पर्ने पूर्व–पश्चिम लोकमार्ग पनि बन्द गरिएको छ । नारायणघाट–बुटवल सडक खण्डको दुम्कीबासस्थित विनयी खोला पुल क्षेत्रको डाइभर्सन बारम्बार बग्ने र नयाँ पुल सञ्चालनमा नआएकाले ठूला सवारीका लागि पूर्णरूपमा रोक लगाइएको हो । असार ७ गतेदेखि अर्को सूचना नभएसम्म यो अवरोध कायम रहने नवलपुर प्रहरीले जनाएको छ । नारायण बुटवल सडक खण्डको उक्त क्षेत्रमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ । यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
यसैबीच, दोलखाको तामाकोशी–५ खिम्तीस्थित चरिकोट–मन्थिली मुख्य सडक असार ८ गते बिहान अबिरल वर्षाका कारण पहिरोले बन्द भएको थियो । बिहान ९ः३० बजेबाट पूर्णरूपमा सुचारु गरिएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाका कारण सडकहरुमा जोखिम बढ्दै गएको हुँदा यात्रा गर्नु अघि सम्बन्धित स्थानीय प्रशासन वा ट्राफिक निकायबाट जानकारी लिएर मात्रै यात्रा गर्न सरोकारवालाहरूले सुझाव दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology