Logo

२०८३, आश्विन १०गते


images
images

अमेरिकाको रैथाने माछा नेपालको खोलामा, माछाविद् भन्छन् -  यसले नेपाली माछा सिध्याउँछ

अमेरिकाको रैथाने माछा नेपालको खोलामा, माछाविद् भन्छन् -  यसले नेपाली माछा सिध्याउँछ

images
  • अमेरिकाको रैथाने माछा नेपालको खोलामा, माछाविद् भन्छन् -  यसले नेपाली माछा सिध्याउँछ
    images
    images

    बिराटनगर । अनौठो प्रजातिको माछा भेटिएको छ। धनपालथान गाउँपालिकाको दादरबेरियास्थित लोहन्द्रा खोलामा लगभग पाँच सय ग्राम तौलको ‘सकरमाउथ क्याट फिस’ फेला परेको हो। 

    images
    images
    images


    स्थानीयले खोलामा माछा मार्ने क्रममा गत बुधबार दिउँसो फेला पारेपछि घरमा लगेर राखेका थिए। बचाउन मुस्किल परेसँगै पुनः माछालाई स्थानीयले खोलामै छाडिएको पाइएको डिभिजन वन कार्यालय मोरङका अधिकृत प्रमेश्वर पासवानले बताए। उनका अनुसार यो माछाको वैज्ञानिक नाम ‘हाइपोस्टोमस प्लेस्कोटोमस’ हो। नयाँ प्रजातिको माछा मोरङमा पहिलो र नेपालमा भने दोस्रो पटक भेटिएको उनको भनाइ छ।  सन् २०१८ मे १२ मा धनुषाका हेमनारायण यादवको पोखरीमा पहिलो पटक यो माछा भेटिएको जानकारी पासवानले दिए। उनका अनुसार यो माछा अमेरिकाको भने रैथाने प्रजातिभित्र पर्छ। पछिल्लो समय यसलाई केही मुलुकले एकोरियममा सजावटका लागि राख्न थालेको उनको भनाइ छ। सजावटकै लागि सन् १९९० मा एसिया, युरोप, चीन र बंगलादेशमा यो माछा भित्र्याइएको विज्ञहरूले बताएका छन्। 

    images
    images
    images


    खानका लागि अयोग्य मानिने यसलाई आयूसीएन (अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ) ले भने संकटापन्न जीवको सूचीमा राखेको छ। सजावटका लागि लगिएको माछा चीनको नदीहरूमा फैलिएको बताइन्छ। यो माछा कसरी नेपालमा आइपुग्यो भन्ने बारेमा अध्ययन एवं अनुसन्धान भइरहेको जानकारी वन अधिकृत पासवानले दिए। उनका अनुसार यो सहजै नेपालमा पाइने प्रजातिको माछा हैन। 

    images
    images
    images


    ‘मिचाहा प्रजातिको यो माछा खान योग्य छैन। यसको प्रवेशले नदी प्रणालीमै ठूलो असर गर्छ,’ उनले भने, ‘खाइदिने र मारिदिने गर्ने भएकाले नेपालका नदीमा पाइने रैथाने माछा नै लोप हुने खतरा रहन्छ। यो माछा जुनसुकै ठाउँको पानीभित्र बस्न सक्ने अवस्थाको हुन्छ।’ अधिकृत पासवानका अनुसार मिचाहा प्रजातिकै भएका कारण यसले रैथानेको बासस्थान, प्रजनन र विकासलाई धेरै ठूलो असर गर्छ। 


    माछाविज्ञ दीपनारायण साह नेपालमा नपाइने यो माछा कसरी यहाँसम्म आइपुग्यो भन्ने पत्ता लगाउन अध्ययन एवं अनुसन्धान आवश्यक रहेको बताउँछन्। ‘यसले आफ्नो संख्या बढाउने र अरू रैथाने माछालाई खाने तथा शरीरमा भएको काँडाले हानेर मारिदिने गर्छ। माछाका भुराहरू पनि सबै सखाप बनाइदिन्छ,’ उनले भने, ‘नेपालमा पाइने स्थानीय प्रजातिका माछाका लागि यो ठूलो शत्रु हो। नेपालको नदीमा देखा पर्नु भनेको रैथाने प्रजातिका लागि निक्कै हानिकारक एवं खतरनाक मानिन्छ।’ 


    नेपालमा रैथाने माछाको संख्या वृद्धिको निक्कै ठूलो बाधक मानिने भएकाले पनि यसका बारेमा गहिरो खोज तथा व्यवस्थापन आवश्यक रहेको साहले बताए। उनका अनुसार पानीभित्रको जमिन मुखले जोतिरहने यो माछाको बानी हुन्छ। जसका कारण पानीको भित्री सतहमा पाइने घाँसहरू (वनस्पति) लोप एवं नष्ट हुन सक्ने साहको भनाइ छ।  

    मुखले जोतेर रैथाने माछालाई आवश्यक पर्ने पानीभित्रको वनस्पति मारिदिने उनको भनाइ छ। ‘यो माछा नदी प्रणाली नै नष्ट गरिदिने प्रजातिको हो। पानीको भौतिक र रासायनिक गुणसमेत परिवर्तन गरिदिन्छ,’ माछाविज्ञ साह भन्छन्, ‘उपयुक्त वातावरण नै नष्ट हुने भएपछि रैथाने माछाको संख्या पनि बढ्दैन। संख्या नबढ्दा र भएकालाई पनि यसले खाइदिने हुँदा रैथाने माछा लोप हुन्छ।’  आवश्यक पर्ने पानीको वास्तविक गुण र उचित वातावरण नै नष्ट गरिदिने हुँदा यो प्रजातिको माछा रैथानेका लागि शत्रु मानिने साहको भनाइ छ। उनका अनुसार माछापालन भएको पोखरीभित्र यसको प्रवेश भएमा पालिएका सबै माछा स्वाहा बनाइदिन्छ। 


    यो माछाले शरीरमा भएको काँडाले पानीको जीवमा आश्रित चरालाई समेत मारिदिने उनले बताए। नेपालको नदी प्रणाली, रैथाने माछा र पानीको जीवमा आश्रित चराको संरक्षणमा यो माछाका कारण चुनौती थपिने माछाविज्ञ साहको भनाइ छ। (साभार : अन्नपूर्ण पोस्ट)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।