बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले प्रदेश राजधानी दाङ सारिएपछि बुटवलको होटल व्यवसाय प्रभावित भएको बताएका छन् ।
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २४ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले राजधानी सरे पनि व्यवसायीको हौसलाले बुटवलको व्यापार चलिरहेको बताए ।
बुटवललाई निजी क्षेत्रबिनाको शहर कल्पना गर्न नसकिने भन्दै प्रमुख पाण्डेले उपमहानगरले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने नीति लिएको स्पष्ट पारे । सम्भावनाको शहर बुटवलमा नयाँ सम्भावनाको खोजी गर्दै होटल व्यवसायीले आत्मनिर्भर योजना अघि सार्नुपर्नेमा उनको जोड छ ।
साथै, आन्तरिक तथा बाह्य पर्यटकलाई बुटवलमै राख्न सकिने गरी आकर्षक टुर प्याकेज निर्माण गर्न व्यवसायीलाई सुझावसमेत दिए ।
सोही कार्यक्रममा उपप्रमुख सावित्रा देवी अर्यालले भारतबाट मुक्तिनाथ पुग्ने तीर्थयात्री र पर्यटकका लागि बुटवललाई विश्रामस्थलको रूपमा विकास गर्नुपर्ने धारणा राखिन् । उनले बुटवलदेखि मुक्तिनाथसम्मका पालिकासँग भगिनी सम्बन्ध विस्तार गर्न लागिएको जानकारी दिँदै, होटलहरूमा स्थानीय उत्पादनको प्रवर्द्धनका लागि काउन्टरमा राख्ने चलनलाई पनि बुटवलले पछ्याउनुपर्ने बताइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology