देवदह । देवदह बुद्ध पब्लिक आवासीय मा.विले बिहिवार सरसफाई कार्यक्रम गरि ५३ औँ वातावरण दिवस मनाएको छ । विद्यालयमा गठित, जुनियर युवा रेडक्रस सर्कल र बालक्लबको अग्रसरतामा कार्यक्रम गरिएको हो ।
सोही क्रममा विद्यालय परिषर तथा स्थानीय मिलन चोक, खैरेनी बजार, गोठादी मार्ग लगाएत क्षेत्रमा विद्यार्थीहरुले सरसफाई गरे । सरसफाईसँगै विद्यार्थीहरुले विश्वमा बढ्दै गएको प्लास्टिकको प्रयोग कम गर्नुपर्ने विषयमा धारणा समेत राखेका छन् ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद गैरेले विश्वमा बढ्दै गएको प्लाष्टिक प्रदूषण न्यूनीकरणमा सबै नागरिकको समान दायित्व रहेकाले विद्यार्थीहरु यस विषयमा सचेत रही अभिभावकलाई समेत सचेत बनाउनु पर्ने धारणा व्यक्त गरे ।
यसैगरी जुनियर रेडक्रसका अध्यक्ष अनुष्का भण्डारी र बालक्लबका अध्यक्ष स्पर्श भण्डारीले वातावरण र सरसफाई कार्यक्रम एक अर्काका परिपुरक रहेको भन्दै कार्यक्रमले विद्यालयलाई समाजसँग जोड्ने विश्वास व्यक्त गरे ।
रेडक्रसका सचिव ग्रीष्मा खरेलको सञ्चालनमा भएको कार्यक्रममा सहायक प्रिन्सिपल वेद सूर्यवंशी, सहायक प्रिसिपल रोशी गुरुङ्ग, कक्षा ११ र १२ का इन्चार्ज अनन्तराम भण्डारी, मा.वि इन्चार्ज मुक्ति विश्वकर्मा, खेल संयोजक बलराम ज्ञवाली, प्रा.वि इन्चार्ज अञ्जना वली लगाएत पूर्व प्रा.वि इन्चार्ज मनमाया रूचाल लगायत
शिक्षक कर्मचारीको समेत उपस्थिति रहेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology