काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा तथा रकम असुली प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्न नपाएपछि बुधवार संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
गृहमन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको विषयलाई लिएर मन्त्रीको पनि संलग्नता भन्ने प्रचार, समाचार र सामाजिक सञ्जालमा विचारहरू अभिव्यक्त भएको बताउँदै उक्त विषयमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारे । उनले आफूलाई संलग्नता देखाएर सार्वजनिक भएका समाचार र सामाजिक सञ्जालमार्फत अभिव्यक्त धारणाहरू असत्य र बेठीक भएको दाबी गरे ।
आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण ढङ्गले आक्रमण गरिएको जिकिर गर्दै गृहमन्त्री लेखकले पछिल्लो घटनाक्रम राजनीति पूर्वाग्रहले प्रेरित भएको समेत बताए । उनले आफूमाथिको आक्रमण षड्यन्त्र मुलुक रहेको र यसको क्रम जारी छ भन्ने अनुभूति गरेको समेत बताए ।
उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको यो विषयलाई लिएर मन्त्रीको संलग्नता छ भन्ने ढङ्गले विभिन्न प्रचारहरू, समाचारहरू र सामाजिक सञ्जालमार्फत विचारहरू अभिव्यक्ति भएका छन् । यो विषयमा मेरो संलग्नता देखाएर समाचारहरू र सामाजिक सञ्जालमार्फत धारणाहरू अभिव्यक्त भएका छन्, यो असत्य कुरा हो, यो बेठिक कुरा हो र यसमा मेरो कुनै संलग्नता छैन भन्ने कुरा यहाँहरूमार्फत निवेदन गर्न चाहन्छु ।’
भिजिट भिसामा विदेश जानेहरूसँग लाखौँ असुली गरेको प्रकरणमा गृहमन्त्री लेखकले आरोप खेपिरहेका छन् । उनले मंगलवार र बुधवारको प्रतिनिधिसभाको बैठकमा आफ्ना भनाइ राख्ने तयारी गरे पनि विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि संसद् अवरुद्ध हुँदै आएको छ । विपक्षी दलहरूले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने माग राखेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology