काठमाडौँ । छिमेकी राष्ट्र भारतले जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्रको हैसियत बनाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सार्वजनिक गरेको प्रतिवेदनले भारतको अर्थतन्त्र ऐतिहासिक मोडमा प्रवेश गरेको पुष्टि गरेको हो।
आईएमएफको २०२५ अप्रिल प्रतिवेदन अनुसार भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) ४.१८७ ट्रिलियन अमेरिकी डलर पुगेको छ। यो सँगै भारतले जापानलाई थोरै अन्तरले पछि पार्दै चौथो स्थान ओगटेको हो। जापानको अर्थतन्त्रको आकार हाल ४.१८६ ट्रिलियन डलर रहेको छ।
विश्वको शीर्ष अर्थतन्त्रको सूचीमा अमेरिका ३०.५१ ट्रिलियन डलरसहित पहिलो स्थानमा छ भने दोस्रो स्थानमा १९.२३ ट्रिलियन डलरसहित चीन रहेको छ। तेस्रो स्थानमा ४.७४ ट्रिलियन डलरसहित जर्मनी छ। भारतको यो उपलब्धिले अब दक्षिण एशियाली क्षेत्रको भूराजनीतिक र आर्थिक प्रभावसमेत फेरिने सङ्केत दिएको छ।
अर्थतन्त्रको वृद्धिदरका हिसाबले हेर्दा भारत पछिल्लो दशकमा सबैभन्दा द्रुत गतिमा अगाडि बढेको छ। १० वर्षको अवधिमा भारतको जीडीपी १०५ प्रतिशतले वृद्धि भएको छ। यसै अवधिमा चीनको ७६ प्रतिशत, अमेरिकाको ६६ प्रतिशत र जर्मनीको ५५ प्रतिशतले मात्र वृद्धिदर देखिएको छ।
यस्तो तीव्र आर्थिक वृद्धिको पछाडि भारतले उत्पादनमुखी नीति, प्रविधि क्षेत्रमा बढ्दो लगानी, युवा जनशक्तिको उपयोग र पूर्वाधार विकासलाई प्राथमिकता दिएको देखिन्छ। यद्यपि, व्यापक गरिबी, बेरोजगारी, सामाजिक असमानता र जलवायु संकटजस्ता चुनौतीहरू भारतले सामना गरिरहेकै छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology