काठमाडौं । देशमा हाल पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असरले कोशी, मधेस र बागमती प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा छ।
कर्णाली, लुम्बिनी, बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी दिइएको छ। हाल भारतको केरला क्षेत्र, श्रीलङ्का, मालदिभ्स हुँदै बङ्गालको खाडीको उत्तरपश्चिमतिर मनसुन प्रवेश गरिसकेको छ। बङ्गालको खाडीबाट जमिनतर्फ मनसुन विस्तार हुँदै गर्दा यसको प्रभाव आगामी दिनहरूमा नेपालमा समेत देखिने संकेत मिलेको छ।
आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशसँगै देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र बागमती प्रदेशसहित देशका पहाडी क्षेत्रका थोरै स्थान र अन्य भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा भने हल्का वर्षासहित हिमपात हुन सक्ने अनुमान गरिएको छ।
रातिको मौसमपनि दिउँसो जस्तै रहने महाशाखाको प्रक्षेपण छ। विशेषगरी कोशी र मधेस प्रदेशका केही भू–भागमा र पहाडी क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहँदा जनजीवनमा असर पर्न सक्ने देखिएको छ।
मौसममा देखिएको यस प्रकारको उतारचढावले दैनिक जनजीवनसहित कृषि, स्वास्थ्य, यातायात र हवाई उडानमा समेत प्रभाव पार्न सक्ने सम्भावना रहेकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology