जनकपुर । गृहमन्त्री एवं नेपाली कांग्रेसका सांसद रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार निर्माणका लागि पार्टीले गम्भीर पहल गरिरहेको बताएका छन्।
शनिबार जनकपुरमा आयोजित नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै लेखकले लामो समयदेखि कांग्रेसको सरकार नबनेको विषयमा नेताकार्यकर्ताहरूले उठाएका गुनासोलाई सहमति जनाउँदै त्यसलाई सम्बोधन गर्न केन्द्रमा छलफल सुरु भइसकेको जानकारी दिएका हुन्।
"लामो समयदेखि कांग्रेसको सरकार बनेन भन्ने कुरा सही हो। हामीले यसलाई गम्भीरतापूर्वक लिएका छौँ," गृहमन्त्री लेखकले भने, "अब कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपरेका छौँ।"
उनका अनुसार अहिले देश संघीय सरकारदेखि प्रदेश र स्थानीय तहसम्म पनि साझा सरकारको अभ्यासमा छ। यस्तो अवस्थामा दुई प्रतिष्पर्धी दलबीचको सत्ता साझेदारीले केही जटिलता निम्त्याएको स्पष्ट पार्दै उनले भने, "एकै पार्टीको सरकार हुँदा पनि कठिनाइ हुन्छ, अहिले त दुई प्रतिस्पर्धी दलबीच साझा सरकार छ। स्वाभाविक रूपमा केही समस्या आउँछन्। त्यसैले हामीले संयन्त्र बनाएका छौँ।"
मधेस प्रदेशमा एमाले र कांग्रेसबीच आलोपालो सरकारको समझदारी रहेको उल्लेख गर्दै उनले त्यसको कार्यान्वयन हुने बताएका छन्। “मधेस प्रदेश सरकार पनि हामीले पालो पालो गर्ने सहमति गरेका छौँ,” लेखकले भने, “परिवर्तन हुन्छ।”
उनका अनुसार अहिलेको प्रदेश सरकार पनि सोही समझदारीको जगमा अगाडि बढिरहेको छ।
पछिल्लो १० महिनामा देशको अर्थतन्त्रमा महत्वपूर्ण सुधार आएको उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यसको श्रेय साझा सरकारलाई दिएका छन्। उनले भने, “अर्थतन्त्रमा धेरै ठूलो परिवर्तन भएको छ। त्यसको प्रभाव जनताले अनुभूत गर्न थाल्नु भएको छ।”
संघ, प्रदेश र जिल्लास्तरमा साझा सरकार सञ्चालनमा उत्पन्न हुने समस्या समाधान गर्न कांग्रेस–एमाले संयोजनमा साझा संयन्त्र बनाइएको उल्लेख गर्दै लेखकले सबै तहमा समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology