काठमाडौँ । देशमा अहिले पश्चिमी वायु र स्थानीय वायुले असर गरिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाले समेत आंशिक प्रभाव पारिरहेको छ।
यस मौसम प्रणालीको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित अधिकांश पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ। बाँकी भूभागमा मौसम मुख्यतः सफा देखिएको छ।
मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भेगका केही स्थानमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी छ। दिउँसो पनि यस्तै अवस्था रहने देखिन्छ।
मौसमविद्का अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको महाशाखाको अनुमान छ।
आज रातिको मौसम पनि खासै परिवर्तन हुने छैन। कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। उच्च भूभागहरूमा हिमपातको सम्भावना यथावत् रहेको छ।
वर्षाको सम्भावनासँगै महाशाखाले जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी चट्याङसहितको मौसम र सम्भावित हिमपातले पहाडी तथा हिमाली क्षेत्रमा जोखिम बढाउन सक्छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology