बुटवल । केही दिनदेखि देशैभर छिनछिनमा विद्युत काटिने गरेको छ । यसरी विद्युत अबरुद्ध हुँदा विद्यार्थीहरूको अध्ययन प्रभावित भएको भन्दै अखिल क्रान्तिकारी रुपन्देहीले ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलवार नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलमा पुगी क्रान्तिकारीले विद्युत आपूर्ति नियमित नहुँदा विद्यार्थीसहित आम उपभोक्ता मारमा परेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
क्रान्तिकारीले कार्यालय प्रमुख शम्भु कुशीयत यादवलाई बुझाएको पत्रमा लामो समयको संघर्षपछि लोडसेडिङ अन्त्य भएको ऐतिहासिक उपलब्धि पुनः संकटमा पर्न थालेको जनाइएको छ। “पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व उर्जा मन्त्री जनार्दन शर्मा र कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा उज्यालो नेपाल बनाउने संकल्पबमोजिम लोडसेडिङ अन्त्य भएको थियो, तर अहिले पुनः छिनछिनमा बत्ती जाने क्रमले त्यो उपलब्धिमा आघात पुगेको छ,” पत्रमा उल्लेख छ।
विगत एक महिनादेखि नियमित रूपमा हुने विद्युत अवरोधका कारण विशेष गरी विद्यालय, क्याम्पस र परीक्षा केन्द्रहरूमा पढिरहेका विद्यार्थीहरू मारमा परेका छन्। त्यस्तै स्वास्थ्य सेवा, उद्योग, व्यापार तथा अन्य अत्यावश्यक सेवाहरू समेत प्रभावित भइरहेका उल्लेख गर्दै क्रान्तिकारीले यस अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ।
संगठनका जिल्ला अध्यक्ष टिकराम आचार्यले हस्ताक्षर गरेको पत्रमा, यदि कुनै प्राविधिक कारणले विद्युत अवरुद्ध गर्नुपरेको हो भने समयमै सार्वजनिक सूचना जारी गरिनु पर्ने माग गरिएको छ। "बिना जानकारी बारम्बार लाइन काट्नु उपभोक्ताको अधिकारको उल्लङ्घन मात्र नभई विद्युतीय उपकरणमा क्षति पुर्याउने गैरजिम्मेवार कार्य हो," ध्यानाकर्षण पत्रमा भनिएको छ।
क्रान्तिकारीले आगामी दिनमा पनि यस्ता समस्या समाधान नभए थप आन्दोलनात्मक कार्यक्रम घोषणा गरिने चेतावनी दिएको छ।
ध्यानाकर्षण पत्रको बोधार्थ नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौं र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सिंहदरबारमा समेत पठाइएको क्रान्तिकारीले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology