देवदह । देवदह नगरपालिकाले अव्यवस्थित बसोबास तथा सुकुम्बासी जग्गाको पुर्जा वितरण कार्यको प्रक्रिया अघि बढाएको छ । पहिलो चरणमा नगरका पाँच वटा वडाका १४ सय ३४ परिवारलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाइएको हो ।
नगर भूमि व्यवस्थापन शाखाले प्रक्रिया पुरा गरी भूमि समस्या समाधान आयोग जिल्ला समिति रुपन्देहीमा पठाएको विवरण अनुसार जारी सूचनामा भूमि समस्या समाधान आयोग २०८२ जेठ ४ को निर्णयमा देवदहका वडा नं. ५, ६, ७, ९ र १० का विभिन्न टोलमा बसोबास गर्ने अव्यवस्थित तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने उल्लेख छ ।
अव्यवस्थित तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने कार्यविधि, २०८१ को अनुसूची-१० बमोजिम राजश्व विवरण यकिन गरी सार्वजनिक गरिएको हो आयोगले जनाएको छ । भूमि सम्बन्धी नियम, २०२१ (बीसौं संशोधन, २०८१) को नियम ४१ च को उपनियम (१) अनुसार सूचना जारी गरिएको जनाइको छ ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति रुपन्देहीको मूल्याङ्कन अनुसार देवदहको पूर्व-पश्चिम लोकमार्ग नजिक पर्ने जग्गाको मूल्य प्रति कठ्ठा ५७ लाख ९७ हजार ८८० रुपैयाँ, भित्री पक्की सडक मोहडामा पर्ने जग्गाको मूल्य १७ लाख ५६ हजार ९२० रुपैयाँ, ग्रावेल तथा कच्ची सडक मोहडामा पर्ने जग्गाको मूल्य ८ लाख ७८ हजार ४६० रुपैयाँ र अन्य बाटो नभएको जग्गाको मूल्य २ लाख ९२ हजार ८२० रुपैयाँ निर्धारण गरिएको छ ।
लालपुर्जा लिनको लागि राजश्व नियम लागू गर्ने जनाइएको छ । जसमा आवासीय क्षेत्रका जग्गाहरूमा १० प्रतिशत र कृषि योग्य जग्गामा ५ प्रतिशत राजश्व तिर्नुपर्ने व्यवस्था गरिएको छ।
देवदह नगरपालिकाले आयोगको यही प्रक्रिया मार्फत भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अन्य अव्यवस्थित बसोबासीलाई कानूनी रूपमा जग्गा उपलब्ध गराउने कार्य अघि बढाएको जनाएको छ ।
सार्वजनिक गरिएको राजश्व विवरणमा कुनै त्रुटी वा असहमति भएमा १५ दिनभित्र लिखित निवेदन पेश गर्न सकिने व्यवस्था समेत मिलाइएको छ।
देवदह नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत रमेश गिरीले नगरपालिकाको तर्फबाट सूचना जारी गर्दै जिल्लाको निर्णयबारे जानकारी गराएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology