काठमाडौं । हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा परेको छ । बुधबार राति आएको बाढीको कारण खोज्दै माथिल्लो तटीय क्षेत्रमा पुगेको सुरक्षाकर्मी र स्थानीयको टोलीले सिरानमा रहेका दुई हिम पोखरी फुटेको आशंका गरेको छ।
चार दिनसम्म केन्द्र र स्थानीय सरकारले बाढीको कारण पत्ता लगाउन चासो नदिएपछि नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्चोर तामाङ केही स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा थाक्रा पुगेका हुन्। अध्यक्षसहितको टोली पहिरोको कारण खोज्दै आठ घण्टा पैदल यात्रा गरेर ५ हजार ३ सय मिटर उचाइमा रहेको थाक्रा पुगेको हो।
थाक्रामा रहेका दुईवटा चर्किएको जस्तो देखिने तालको संरचना देखाउँदै तील गाउँका स्थानीय कुञ्जोक फुर्बु लामाले भने, "हामी ५ जना माथि यो तालसम्म आएका छौँ। घटनास्थल तील गाउँबाट यहाँ आइपुग्न आठ घण्टा लाग्यो। अहिले हामी ५ हजार ३ सय मिटर उचाइमा छौँ। यहाँ दुईवटा हिमताल रहेछन्। माथि बरफ (हिउँ)को तल पानी रहेछ। त्यो पानी जमिन मुनिबाट निस्केर तल गएको देखियो। त्यही पानीले घटना गराएको रहेछ भन्ने हामीलाई लागेको छ।"
पहिरोले गाउँ पुग्ने सबै संरचना तहसनहस भएको छ। गाउँलाई बाढीले तीनतिरबाट कटान गरेको छ। १९ घरपरिवारका ३३ जना बसोबास गर्दै आएको तील गाउँमा बुधबार राति लेदो मिसिएको बाढी आएको थियो।
वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले भने, "जोखिम बढेको छ। केन्द्रीय सरकारले समयमा उद्धार गरेन भने जे पनि हुन सक्छ।"
पहिरोले हाल्जी र हिल्सा जाने बाटो र पुल भत्काएको छ। सेखाङलुङबा खोलामा आएको बाढीले बस्ती तर्फ र तिल्जुङ्ग खोलामा आएको बाढीले पावरहाउस भत्काउनुको साथै हिल्सा जाने बाटो भत्काएको छ। त्यस वरपरका अन्य संरचनासमेत भत्किएका छन्।
हुम्लाको नाम्खा गाउँपालिका भित्र लिमि उपत्यकामा पर्ने तील गाउँ सबैभन्दा विकट गाउँ हो। मनसुन पूर्वको यो बाढी र कटानले गाउँ नै बग्ने जोखिम देखिएको छ।
हेर्नुहोस भिडियो :
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology