काठमाडौं । हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ।
यसको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ। पहाडी भूभागका केही स्थानमा तथा अन्य भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
मधेस, कोशी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका केही स्थानमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
मौसम बदलीका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। विशेष गरी हावाहुरी र चट्याङ्गबाट बच्न आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology