काठमाडौं । नेकपा (एमाले) का सांसद सूर्य थापाले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सत्तारूढ दलकै अनुभवी नेताहरू सक्रिय नभएको बताएका छन्। बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै थापाले प्रि-बजेट छलफलमा सत्तारूढ दलकै ‘वाकपटु’ र ‘भेट्रान’ नेताहरूको अनुपस्थितिलाई लिएर आश्चर्य प्रकट गरे।
उनले नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।
थापाले बजेट वक्तव्य जारी नहुँदै सत्तारूढ दलकै नेताले बजेट पुस्तक च्यात्ने धम्की दिएको विषयलाई पनि अनौठो ठानेका छन्। बुधबारको सभामा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आगामी आर्थिक वर्षको बजेटमा आफ्नो जिल्लाको सडक निर्माणका लागि बजेट विनियोजन नभए बजेट पुस्तक च्यात्ने चेतावनी दिएका थिए।
सांसद थापाले सत्तारूढ दलकै नेताहरूले प्रतिपक्षीझैं व्यवहार गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले भने, "नीति तथा कार्यक्रम र चालु बजेटका सिद्धान्त र प्राथमिकतामाथिको बहसमा केही वाकपटु माननीय र भेट्रान नेताहरूको सक्रियता देखिएको छैन। हिजो त सत्तापक्षकै एकजना वरिष्ठ सांसदले आफ्नो जिल्लाको सडकमा बजेट नपरे बजेट पुस्तक च्यात्ने चेतावनी दिन कुनै संकोच मान्नुभएन। यो पनि आश्चर्यकै अभ्यास हो।"
थापाले थपे, "प्रधानमन्त्री केपी शर्मा ओली निर्दलीय हूनुहुन्न। दुई ठूला राजनीतिक दल र अन्य साना दलहरूको संयुक्त सरकारको प्रधानमन्त्री हुनुहुन्छ।"
थापाले सत्तारूढ दलकै सांसदहरूले प्रतिपक्षीझैं व्यवहार गर्दा सहकार्य बलियो र सुदृढ नहुने भन्दै यसबारे गम्भीर सोच्नुपर्ने बताएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology