काठमाडौं । देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशमा सामान्यतया बदली रहेको छ भने बाँकी पहाडी भूभागमा आंशिक बदली छ।
गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदलीको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा अन्य पहाडी क्षेत्रका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology