देवदह । बुद्ध मावली देवदहमा बुद्ध जयन्ती मनाइएको छ । यशोधरा भिक्षुणी बिहार देवदह–७ मा बुद्धको अष्टधातु प्रदर्शनसहित २५६९औं बुद्ध जयन्ति मनाइएको हो ।
स्थानीय जनप्रतिनिधी, संघसंस्था र सर्वसाधारणको सहभागितामा देवदह खैरेनीस्थित लौकेश्वर मन्दिरबाट बुद्ध जयन्तीको अवसरमा र्याली आयोजना गरिएको थियो। बुद्धको अष्टधातुसहित निकालिएको र्यालीमा लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपाने, यशोधरा भिक्षुणी बिहारका अधिपति उपेक्खा गुरुमा लगायतको सहभागिता रहेको थियो।
र्यालीपश्चात् यशोधरा भिक्षुणी बिहार परिसरमा आयोजित औपचारिक कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य जानकी न्यौपानेले बुद्ध दर्शनमा महिलाको उच्च महत्व रहेको बताइन् । देवदह बुद्ध इतिहासका प्रमुख तीन महिला मायादेवी, प्रजापति गौतमी र यशोधराको जन्मस्थान रहेको उल्लेख गर्दै उनले नारी शक्तिको केन्द्रको रुपमा देवदहलाई बुझ्नुपर्ने धारणा राखिन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका पुर्व सदस्य डा. कृष्ण प्रसाद न्यौपाने, लुम्बिनी विकास कोष देवदहका सम्पर्क कार्यालय प्रमुख दामोदर सापकोटा, यशोधरा भिक्षुणी विहार संरक्षण समितिका अध्यक्ष टेक बहादुर थापा लगायतले बोलेका थिए ।

यशोधरा भिक्षुणी बिहारका अधिपति उपेक्खा गुरुमाले कार्यक्रममा बुद्ध बन्दना गरेकी थिइन्।
देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिरा बहादुर खत्री, देवदह नगर प्रवक्ता गणेश डुम्रेसहित वडा अध्यक्ष र राजनीतिक दलका प्रतिनिधि सहभागी कार्यक्रमको संचालन यशोधरा भिक्षुणी बिहारका सचिव तिलविक्रम बुढाथोकीले गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology