एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने प्रस्ताव राखेका छन्। क्रेमलिनले जारी गरेको विज्ञप्तिमा पुटिनले मे १५ मा इस्तानबुलमा प्रत्यक्ष वार्ता आयोजना गर्ने योजना रहेको जनाइएको छ। रूसले युक्रेनसँगको द्वन्द्वको मूल कारणलाई सम्बोधन गर्दै दिगो र स्थिर शान्तिका लागि आधार तयार गर्न गम्भीर वार्ता गर्न प्रतिवद्ध रहेको जनाएको छ।
पुटिनले प्रस्तावित वार्ताको क्रममा युद्धविराम सम्झौताको सम्भावनाबारे छलफल गर्न सकिने पनि बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि उक्त वार्तामा सहभागी हुने इच्छा व्यक्त गरेका छन्। तर, उनले वार्ताअघि युद्धविरामको आवश्यकतालाई जोड दिएका छन्।
युरोपेली नेताहरूले पनि मे १२ देखि ३० दिनसम्म युद्धविरामको आह्वान गरेका छन्। अमेरिका र फ्रान्सले युरोपेली प्रयासको समर्थन जनाएका छन्। तर, पश्चिमी मुलुकहरूले रूसको प्रस्तावित युद्धविरामलाई 'अल्टिमेटम' भन्दै अस्वीकार गरेका छन्।
यसअघि २०२२ मा इस्तानबुलमा भएको प्रारम्भिक सम्झौतालाई आधार मानेर वार्ता अघि बढाउनुपर्ने पुटिनको धारणा छ। युक्रेनले प्रारम्भिक सहमति जनाएको भए पनि पछि वार्ता स्थगित भएको थियो। अहिले रूसले युक्रेनसँग बिना पूर्वशर्त वार्ता गर्न तयार रहेको जनाएको छ।
यो प्रस्तावित वार्ताले रूस–युक्रेन द्वन्द्वमा नयाँ कूटनीतिक सम्भावनाको संकेत दिएको छ। तर, दुवै पक्षको अडान अझै टाढा रहेकाले वार्ताको सफलतामा चुनौती देखा परेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology