देवदह । देवदहमा शृष्टा सम्मानसंगै रचना वाचन गरिएको छ । शनिवार अनुराग साहित्य समाजले 'रमेश स्मृति सम्मान' तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको हो ।
साहित्यकार रमेश हरिलठ्ठकको स्मृतिमा स्थापित रमेश स्मृति कोषले हरेक वर्ष साहित्यिक योगदानको कदर गर्दै स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ । वि. सं. २०३७ साल फाल्गुण २१ मा जन्मिएर ३२ वर्षको उमेरमा २०६१ श्रावण २१ मा दिवंगत भएका हरिलठ्ठकको स्मरणमा, २०७२ सालमा कोषको स्थापना गरिएको हो ।
कोषले धनकुटाका कवि रोशन परियारलाई 'रमेश स्मृति सम्मान' र उज्यालो लालटिनकी अध्यक्ष समज्ञा अधिकारीलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । सो अवसरमा अनुराग साहित्य समाजका पुर्वअध्यक्ष यमलाल अर्यालसंगै अनुरागको अधिवेशनको निर्वाचन मण्डललाई समेत सम्मान गरिएको अध्यक्ष सरस्वती बश्यालले जानकारी दिइन् ।
ग्रीनप्लान्ट आवासिय माध्यमिक विद्यालयको हलमा आयोजित कार्यक्रममा मुक्तककार सरु लामिछाने र कवि रुप रसाइली 'पुछारघरे'ले रचना वाचन गरेका थिए ।
कार्यक्रममा बोल्दै साहित्यकार निर्मल ढुंगानाले रुपन्देही जिल्ला र देवदहमा साहित्यिक संघसंस्थाको गठन र गतिविधिबारे चर्चा गरे । अनुराग साहित्य समाजका संस्थापक अध्यक्ष समेत रहेका ढुंगानाले साहित्यकार रमेश हरिलठ्ठक, डा. घनश्याम परिश्रमी लगायतले यस क्षेत्रको साहित्यिक विकासमा महत्वपुर्ण योगदान दिएको बताए । सो अवसरमा उनले स्व. रमेश हरिलठ्ठकका रचना समेत वाचन गरेका थिए ।
ग्रीनप्लान्ट आवासिय माध्यमिक विद्यालयका प्राचार्य राजिव सापकोटाले साहित्यकार रमेश हरिलठ्ठक विलक्षण प्रतिभाका धनी रहेको बताए । पढाइमा अत्यन्तै तेज रहेका रमेश क्लासमा सधै प्रथम हुने गरेको उल्लेख गर्दै सापकोटाले रमेश हरिलठ्ठक आफ्नो जीवनको प्रेरणाको स्रोत रहेको बताए ।
कार्यक्रम रमेश स्मृति कोषको संयोजन तथा युगिन साहित्य समाज र उज्यालो लाल्टिन प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा अनुराग साहित्य समाजका अध्यक्ष सरस्वती बश्यालको अध्यक्षता, युगिन साहित्य समाजका अध्यक्ष गणेश न्यौपानेको स्वागत र उज्यालो लालटिनका मुकेश ज्ञवालीको सञ्चालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology