देवदह । लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले ७३ औं कानून दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरी दिवस मनाएको छ। वि. सं. २००९ सालमा प्रधानन्यायालय ऐन जारी भएको दिनलाई कानून दिवसका रूपमा मनाइने प्रचलन रहेको छ।
वक्तृत्वकला प्रतियोगितामा ‘शक्ति पृथकीकरणको सिद्धान्त र अभ्यास’ विषयमा प्रतिस्पर्धीहरूले आफ्नो धारणा प्रस्तुत गरे। कार्यक्रममा बोल्दै एकेडेमीक कोअर्डिनेटर रामचन्द्र श्रेष्ठले कानुनका विद्यार्थीहरूले राजनीतिक सिद्धान्त र त्यसको सामयिक अभ्यासबारे अध्ययन गर्नुपर्नेमा जोड दिए। श्रेष्ठले नेपालमा शक्ति पृथकीकरणको सिद्धान्तको प्रभावकारी कार्यान्वयन नहुँदा राजनीतिक प्रणालीमाथि नै प्रश्न उठ्ने गरेको तर्क राखे।
यसैगरी, कानुन संकायका कोअर्डिनेटर अधिवक्ता दामोदर घिमिरेले शक्ति पृथकीकरण सिद्धान्तको ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गर्दै यसका विविध आयामबारे जानकारी गराए।
प्रतियोगितामा बी.ए.एल.एल.बी. प्रथम वर्षकी छात्रा अजिता पाण्डेले प्रथम स्थान हासिल गरिन्। द्वितीय स्थानमा बी.ए.एल.एल.बी. दोस्रो वर्षका नवराज उपाध्याय रहे भने तृतीय स्थान बी.ए.एल.एल.बी. दोस्रो वर्षकी धारणा शर्माले प्राप्त गरिन्। सान्त्वना पुरस्कार बी.ए.एल.एल.बी. प्रथम वर्षका सुन्दर डाँगी र दोस्रो वर्षकी यमुना आचार्यलाई प्रदान गरियो।
कानुनका विषयमा नियमित गतिविधि गरिरहेको कलेजले केही दिनअघि मात्र नेपाल बार एशोसियनको २७ औं निर्वाचनबाट निर्वाचित उपाध्यक्ष अधिवक्ता कृष्णप्रसाद पोखरेल र केन्द्रीय सदस्य अधिवक्ता इन्दिरा आचार्यलाई सम्मान गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology