काठमाडौं । देशमा सक्रिय पश्चिमी वायु, स्थानीय प्रणाली र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको सम्मिलित प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभाव अझै कायम रहने देखिएको छ।
कोशी प्रदेशसहित देशका पहाडी भूभागहरूमा बिहानैदेखि एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा देखिएको छ। दिउँसोसम्म बदली झनै विस्तार हुने अनुमान गरिएको छ। विशेषतः कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना देखिएको छ।
बाँकी भू–भागहरूमा पनि छिटफुट रूपमा चट्याङ्गसहित वर्षा हुनसक्ने अनुमान छ। मौसमविद्हरूले यसलाई सामान्य मौसमी चक्रभित्रको परिवर्तन भए पनि दैनिक जीवनमा असर पर्ने खालको संकेतका रूपमा हेरेका छन्।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागहरूमा बदली रहन सक्नेछ भने अन्य क्षेत्रहरूमा मौसम सफा रहने सम्भावना छ। तर, रातिको समयमा पनि कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने जोखिम कायम छ।
मौसममा आएको यो परिवर्तनले जनजीवन, कृषि, स्वास्थ्य, यातायात— विशेष गरी सडक र हवाई उडानहरूमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology