काठमाडौँ । वैशाख ११ गतेका लागि तय गरिएको कक्षा १२ को परीक्षा सरेको छ । झन्डै साढे पाँच लाख विद्यार्थी सहभागी हुने परिक्षा अब वैशाख २१ गतेदेखि हुनेछ ।
मंगलबार बसेको राष्ट्रिय परिक्षा बोर्डको बैठकले निर्धारित समयमै परिक्षा गर्ने निर्णय गरेको थियो । तर शिक्षक सहभागी नहुने र निजामति कर्मचारीले समेत सहयोग नगर्ने घोषणा गरेपछि बोर्ड पछि हटेको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्रीले परीक्षा सार्न सकिने अवस्था रहेको खण्डमा सार्न अनुरोध गरेका थिए।
सोही आधारमा बोर्डले वैशाख २१ गतेका लागि परीक्षा सारिएको अध्यक्ष शर्माले बताए । विषम परिस्थितिका कारण परीक्षा सार्नु परेको उनको भनाइ छ।
भोलि परीक्षा सार्ने सूचना तथा परीक्षा तालिका सार्वजनिक गरिने बोर्डका अध्यक्ष शर्माले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology