काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) सत्ताकाे लोभबाट अझै बाहिर ननिस्किएको टिप्पणी गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव भुसालले माओवादी नेतृत्व अहिले सरकार हटाएर काँग्रेस नेतृत्वको सरकार बनोस् भन्ने चाहनामा रहेको बताए ।
काँग्रेसको नेतृत्वबाट देशका समस्या समाधान हुने भन्नेमा पनि उनले प्रश्न उठाए। “काँग्रेस पार्टी न लायक हो, न नालायक। अरु नालायक भए लायक देखिन्छ, अरु लायक भए यसको महत्व रहँदैन,” उनले भने ।
उनले माओवादीले गणतन्त्र ल्याएको भन्दै त्यसको एकाधिकार भोग गर्न खोज्नु गलत भएको तर्क गरे । “हाम्रा बलमा गणतन्त्र आयो, त्यसैले यसको भोग पनि हामीले गर्नुपर्छ भन्ने तर्क प्रणाली लिएर हिँड्दा देश बन्न सक्दैन,” भुसालले भने । भुसालले माओवादीको राजनीतिक व्यवहार सिद्धान्तविहीन बनेको टिप्पणी गर्दै 'लुकिङ लण्डन, टकिङ टोकियो' शैलीको राजनीति माओवादीले गरेको आरोप लगाए ।
माओवादीलाई क्रान्तिकारी सहयात्री भन्दै उनले प्रश्न गरे—"के हो माओवाद? व्याख्या गर्न सक्दैन, किन राखेको हो थाहा छैन । माओवाद भनेको यता हेरेर उता कुरा गर्ने शैली मात्र हो भने त्यो सिद्धान्त होइन ।”
उनले प्रधानमन्त्रीविरुद्ध नाराबाजी भइरहँदा त्यसको प्रतिवादमा वैशाख ११ गते जनसागर उतार्ने भनाइलाई दुःखद् भने । “प्रदर्शनमा आउनेहरुले ‘आई लभ यु केपी बा’ नभई ‘क्रान्तिको हिसाब’ माग्नुपर्ने हो,” भुसालको भनाइ छ ।
देशको आर्थिक र राजनीतिक अवस्था प्रति चिन्ता व्यक्त गर्दै उनले देश डुबिरहेको छ तर दलाल पुँजीपतिहरू फाइदामा रहेको तथा नेता सफल छन्, तर देश असफल भइरहेको टिप्पणी गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology