काठमाडौं । सरकारको वार्षिक बजेट कार्यान्वयन प्रक्रिया कमजोर हुँदा निजी क्षेत्र निरुत्साहित भएको भन्दै सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले बजेट कार्यान्वयनमा तदारुकता नदेखाउँदा उद्योगी÷व्यवसायीहरूको मनोबल घटेको उनीहरूले बताएका हुन् ।
शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा नेपाल उद्योग परिसङ्घले आयोजना गरेको ‘बजेट र औद्योगिक विकास’ विषयक सार्वजनिक–निजी संवाद कार्यक्रममा सरोकारवालाहरूले सरकारले बजेट कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले बजेटमा नयाँ—नयाँ कुराहरू समावेश गरिए पनि कार्यान्वयन भने फितलो भएको बताए । उनले बजेट कार्यान्वयन फितलो हुँदा यसले नीजि क्षेत्रको मनोबल घट्नुका साथै समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रभाव पारेको जिकिर गरे ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले सामान्य त्रुटीहरू पनि ठूलो बनाउने प्रवृत्तिले उद्योगहरू आइपीओमा जान नमानेको बताए । उनले आइपीओमा जाने प्रक्रियाहरू लामो र खर्चिलो भएको जिकिर गरे । अग्रवालले पहिलोपटक आइपीओमा जाँदा केही त्रुटीहरू देखिए त्यसलाई ठूलो बनाउने र मिडिया ट्रायलका कारणले पनि व्यवसायीहरूको त्यसतर्फ ध्यान नगएको हुनसक्ने बताए ।
नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष रघुनन्दन मारुले आजको दिनमा उद्योगी र लगानीकर्ताहरूमा निराशा छाएको बताए । उनले नेपालमा सम्भावना धेरै भएपनि त्यसको उपभोग हुन नसकेको दावी गरे । मारुले समस्याहरूको पहिचान गरेर जरैदेखि उन्मुलन गर्नुपर्ने आजको आवश्यकता रहेको जिकिर गरे ।
कार्यक्रममा पूर्वसचिव कृष्ण ज्ञवालीले प्रक्रियागत जटिलताहरूलाई सरकारले सम्बोधन गर्न नसकेको बताउँदै प्रक्रियालाई सरलीकरण गराउने भनिए पनि त्यो अनुसार काम नभएको जिकिर गरे । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले प्रक्रियागत सरलीकरणको लागि कानूनी र प्रणालीमा पनि सुधार गरिएको बताए । उनले सबै संयन्त्रहरूलाई सक्रिय बनाएर निजी क्षेत्रको निरन्तर प्रतिक्रिया लिने र समन्वयमा काम गर्नेगरी लागिरहेको दाबी गरे । मन्त्रालयले बजेट खर्चमा नीतिगत समन्वय गर्ने र व्यापारमा भएका अवरोधहरू हटाउन लागिरहेको उनको भनाई छ ।
सरोकारवालाहरूले पछिल्लो समय केही कानुनी सुधार भएपनि सङ्घ र प्रदेश सरकारबीच समन्वय नहुँदा उद्योगहरू मर्कामा परेको समेत उल्लेख गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology