प्रधानमन्त्री केपि शर्मा ओलीले खानेपानीको विषयमा बजेटको व्यवस्था गर्ने प्रतिबद्धतासहित धरानका मेयर हर्कराज राईसंगको फोटो सेयर गरे । सकारात्मक कामको शुरुवातको जानकारी गराईएको उक्त पोस्टमा एक जना सामाजिक संजाल प्रयोगकर्ताले 'उखाने, खुवै ठूलो काम गरिस्' भन्दै निकृष्ट टिप्पणी गरे ।
प्रधानमन्त्री केपि शर्मा ओलीमाथि सामाजिक संजालमा यी र यस्ता प्रकारका अत्यन्तै निम्न तहको टिप्पणी र आलोचना हुने गरेको छ । उनले बोल्दै गरेका भिडियो क्लिपहरु, सरकार प्रमुखका रुपमा निर्वाह गरेको भुमिका, विदेशी समकक्षीहरुसंग गरेको भेटघाट, सुखको क्षण वा दु:खको बेला जे-जस्तो अवस्थाका समाचार तथा भिडियो माथि अत्यन्तै निकृष्ट टिका-टिप्पणी हुने गरेको छ । ओली मात्रै एकजना त्यस्ता नेता हुन्, जसमाथि पछिल्ला दिनमा सबैभन्दा बढी नकारात्मक आलोचना हुने गरेको छ।
त्यसो त प्रधानमन्त्री केपि ओली मात्रै होइन, नेपाली काङ्ग्रेसका सभापती शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल 'प्रचण्ड' लगायत राजनीतिक दलका सबैजसो नेताहरुले गरेका राम्रा वा जुनसुकै कामको सामाजिक संजालमा तल्लो तहमा ओर्लिएर आलोचना हुने गरेको छ ।
संजालमा देखिएका टिका-टिप्पणी हेर्दा लाग्छ - संसारमै सबैभन्दा खराब मान्छे भनेकै नेपाली राजनीतिक दलका नेताहरु हुन् । यहि भाष्य निर्माण गर्न खोजिदै छ । राजनीतिक दलका नेतृत्वहरु माथि व्यक्तिगत ढंगले गरिने आलोचनाले हाम्रो समाजको चरीत्रलाई विरोधाभाषपुर्ण बनाएको छ ।
संजालमा देखिएका टिका-टिप्पणी हेर्दा लाग्छ - संसारमै सबैभन्दा खराब मान्छे भनेकै नेपाली राजनीतिक दलका नेताहरु हुन् । यहि भाष्य निर्माण गर्न खोजिदैछ । राजनीतिक दलका नेतृत्वहरु माथि व्यक्तिगत ढंगले गरिने आलोचनाले हाम्रो समाजको चरीत्रलाई विरोधाभाषपुर्ण बनाएको छ ।
नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा चैत्र २७ गते रुपन्देहीको देवदहमा पार्टी कार्यक्रममा सहभागी हुँदै थिए । आयोजकले उनको तस्वीर सहितको प्रचार सामग्री तयार गरि कार्यकर्ताहरुलाई कार्यक्रममा उपस्थितिका लागि आह्वान गरेका थिए । एक जना सोसल साइट युजरले त्यही प्रचार सामाग्रीमा टिप्प्णी गरे 'गगन थापा आउदैछन्, बाख्रा सुरक्षित गर है ।'
वास्तवमा आलोचना र टिप्पणी केका लागि हुनु पर्दछ ? कसरी हुनु पर्दछ ? भन्नेसम्म पनि हेक्का नराख्ने हाम्रो समाजमा बौद्धिक दरिद्रताको थुप्रो नै लागेको छ ।
समाज र राष्ट्रको निर्माणका निम्ति निरन्तर रुपमा खटिइरहेका व्यक्तिहरुमाथि निम्न हैसियतका आधारमा हुने नकारात्मक टिप्पणीले नेपाली समाजमा कति धेरै नकारात्मकता थोपरिएको छ भन्ने चित्र प्रष्ट देख्न सकिन्छ ।
त्यसो त राजनीतिक दलका नेताहरु मात्रै होइन । सवै क्षेत्र, वर्ग र समुदायका मानिसहरुलाई लक्षित गरि सामाजिक संजालमा यी यस्ता टिप्पणीहरु हुँदै आएको छ । त्यसमध्ये पनि राजनीति क्षेत्रका नेतृत्वमाथी बढी प्रहार भईरहेको पाइन्छ । आलोचना र टिप्पणीको पनि एउटा सिमा हुन्छ । त्यो सिमालाई पार गरेर भएका यी यस्ता नकारात्मक धारणाले कस्तो समाज निर्माण गर्न योगदान पुग्ला ? यो विचारणीय पक्ष हो ।
आज विश्वमा भएको प्रविधिको विकासले मानव समाजलाई वैभवशाली र सम्पन्न बनाएको छ । वैभव र सम्पन्नताभित्र सन्तुष्टि, सुख र आनन्द हुनुपर्ने हो । तर समाजका आयामहरुलाई घोत्लिएर हेर्दा त्यो पाउन सकिँदैन । मानिसहरुको मष्तिष्कमा नकारात्मक सोच, विचार र दृष्टिकोणले कब्जा जमाएको छ । त्यसैले त प्रविधिलाई उनीहरुले नकारात्मक अभिव्यक्ति र धारणा ओकल्ने साधनको रुपमा मात्रै उपयोग गरिरहेका छन् ।
सामाजिक संजाल समुदायको निम्ति निर्माण गरिएको प्लेटफम हो । उपयुक्त ढंगले प्रयोग गर्न सक्दा मानिसहरुलाई यसबाट लाभ मिल्दछ । तर पछिल्लो समय सामाजिक संजाललाई दुरुपयोग गर्नेहरुको संख्यामा वृद्धि भएको छ । जहाँ आलोचना र टिप्पणी भन्दा पनि भद्धा र अश्लिल गालीगलौज मात्रै देख्न सकिन्छ । खराव पक्ष मात्रै उजागर गर्ने, कुनै व्यक्तिले समाजका निम्ति दिएको योगदानको अवमूल्यन गर्ने, हेर्न, पढन र सुन्नै नसकिने शव्दहरुले संजाल रङ्ग्याउने जस्ता अवाञ्छित कृयाकलापहरु बढिरहेको छ ।
सामाजिक सदभाव र सन्तुलनलाई नै तल-वित्तल पार्ने गरि भएका यस्ता गतिविधिले समाजको मूल्य र मान्यतामाथि प्रहार गरि रहेको छ । सिमित ज्ञान भएका, अध्ययन र विश्लेषणमा कमजोर रहेका मात्रै होइन, बौद्धिक जगतका मानिसहरु समेत यहि पथमा लम्कीरहेका छन । उनीहरुले निम्नस्तरको टिका- टिप्पणी गर्ने र अरुले गरेको टिप्पणीलाई प्रोत्साहन गर्ने गरेको पाइन्छ ।
हामीले कस्तो समाजा निर्माण गर्ने हो ? कस्तो संस्कार र संस्कृति विकास गर्ने हो ? सामाजिक मूल्य मान्यतालाई कसरी जोगाई राख्ने हो ? यो विषय आज सबैभन्दा बढी चासो र चिन्ताको विषय बनेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology