बुटवल । नेकपा एमालेले आयोजना गरेको जागणसभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल आउँदै छन् । राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको हो ।
देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय सभा बुटवलमा हुँदैछ । देशको वर्तमान अवस्था जानकारी गराउने उद्देश्यसहित नेकपा एमालेले शुक्रवार बुटवलमा लुम्बिनी प्रदेशस्तरीय जागरण सभा गर्ने र त्यसमार्फत आफ्नो धारणा जनता तथा कार्यकर्तालाई जानकारी दिने तयारी गरेको छ । एमालेले चैत २४ देखि ३० गतेसम्म गणतन्त्रको पक्षमा देशका विभिन्न सहरमा गर्ने सभा अन्तर्गत बुटवलमा पनि सभा गर्न लागिएको हो । रामनगर स्थित बुटवल मण्डपमा हुने सभालाई एमालेका शिर्ष नेताहरुले समेत सम्बोधान गर्नेछन् ।
नेकपा एमाले प्रचार विभाग रुपन्देहीले बिहीवार पत्रकार सम्मेलन गरी सभाको तयारी पूरा भएको जानकारी दिएको छ । एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले प्रतिगामी गतिविधिका विरुद्ध जनतालाई सचेत पार्दै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने कार्यक्रमको मुख्य उद्देश्य भएको बताइन् । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै गणतन्त्रको पक्षमा राष्ट्रिय जागरण अभियान चलाइएको र यो प्रदेशको बुटवलमा सभा गर्न लागिएको उनको भनाइ छ ।
‘सरकारमा भएको पार्टीले किन सभा गरेको भनेर पनि प्रश्न उठेका छन् ।, पार्टी सरकारमा भएपनि व्यवस्थाविरुद्ध भएका गलत प्रचारबारे आम नागरिकलाई बुझाउन जरुरी छ ।’ उनले भनिन्, ‘काम गर्दा केही कमजोरी भएका पक्कै हुन सक्छन्, त्यसलाई सच्चाउने हो, यो व्यवस्था त्यसै आएको होइन, यसको रक्षा गर्ने सबैको दायित्व हो, गलत प्रचार गर्नेलाई वास्तविकता बताउन र भ्रम चिर्न आवश्यक छ ।’
सचिव अर्यालले अहिले पनि आफुहरुले चाहेजसरी काम गर्न नसकेको, नागरिकका सबै अपेक्षा पूरा गर्न नसकेको सत्य भएको बताउँदै त्यो सुधारसहितका विषयमा प्रस्ट कुराहरू पार्टीले राखिरहँदा पनि केही समूहले अनर्गल प्रचार गरेको बताइन् ।
एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले सभा एमालेको मात्र नभएर सबै गणतन्त्र पक्षधरको भएको जनाए । गैरेले भने, ‘आयोजक एमाले भए पनि गणतन्त्र पक्षधर शक्तिको कार्यक्रम हो यो । सभामा हजारौँ नागरिक सहभागी हुनेछन् । यसले सन्देश दिने हो ।’
सभापूर्व बुटवलबाट भैरहवासम्म ५ हजार मोटरसाइकल र पाँच सय गाडीसहितको र्याली निकालिने, त्यसपछि पूर्वमा मुटुअस्पताल, दक्षिणमा कालिकाचोक, उत्तर र पश्चिमबाट जम्मा भएको टोली अस्पताल लाइनमा जम्मा भएर रामनगरस्थित कार्यक्रम स्थलमा जाने गैरेले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology