काठमाडौ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ) ले धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग गरेको बताएका छन् । बुधवार एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष लामाले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा गरे ।
उपाध्यक्ष डा. लामाले लुम्बिनी क्षेत्रको तीब्रतर विकासका लागि अस्ट्रेलियाको समुदायले सहकार्य तथा हातेमालो गर्न इच्छा र आवश्यकता महसुस गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद प्रदान गरेका छन् । उपाध्यक्ष डा. लामाले बुद्धस्थलहरू कपिलवस्तुको तिलौराकोट, रामग्राम समेतलाई विश्वस्तरमा प्रवर्द्धन गर्दै लैजाने प्रतिवद्धता समेत जाहेर गरे।
विश्वमा अहिंसा र द्वन्द्व बढ्दै गएको बेला शान्तिको लागि विश्व समुदायमा संस्कृतिको आदानप्रदानले मानव समाजको विकासलाई झनै मैत्रीपुर्ण बनाएको उनले बताए । लुम्बिनीमा अन्तर्राष्ट्रिय मठ र मन्दिरहरू विश्व संस्कृतिको रुपमा विकास भैरहेको कुरा बताउदै उपाध्यक्ष डा. लामाले विभिन्न देशहरूले आफ्नो देशको वास्तुकला र धार्मिक शैलीलाई लुम्बिनीका मठ र गुम्बारहरूले प्रतिनिधित्व गरेको बताएका छन् ।
अस्ट्रेलियामा ग्रेट स्तुपमार्फत इयान ग्रीनले बौद्ध धर्मलाई विश्वव्यापी बनाउन गरेको योगदानलाई कदर गर्दै कार्यक्रममा इयान ग्रीनलाई सम्मान समेत प्रदान गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology