काठमाडौं । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ्गले प्रमुख मानवीय आवश्यकता खानेपानी भएको बताएका छन् । सोमवार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उनले धरानको जनताका लागि मुख्य समस्या खानेपानी रहेको बताउँदै उनले सडक निर्माण दोस्रो प्राथमिकतामा राख्दै धुलो बाटोमा हिँड्न सकिने तर पानीबिना जीवन नचल्ने बताए ।
साम्पाङ्गले धरानको खानेपानी समस्याका बारेमा प्रधानमन्त्रीसँग भएको कुराकानी सकारात्मक रहे पनि विश्वास गर्न नसकेको उल्लेख गरे । उनले खानेपानी व्यवस्थापनका लागि करिव पाँच अर्ब लाग्ने र बजेटमार्फत स्रोत व्यवस्था गर्ने प्रधानमन्त्रीले आश्वासन दिएको बताए ।
प्रधानमन्त्रीको आश्वासनमा शंका गर्न नहुने तर बजेटले सम्बोधन नगरेसम्म विश्वास नलाग्ने उनको भनाइ छ । साम्पाङ्गले धरानमा आफूले तीन हजार धारा थपिसकेको तर सहरीकरण बढ्दा माग पनि उतिकै बढेको बताए ।
प्रमुख साम्पाङ्गले जीवन रहेसम्म समस्याले नछोड्ने भन्दै मुख्य समस्या समाधान पहिलो प्राथमिकतामा राख्नुपर्ने जिकिर गरे । काठमाडौंवासीले नियमित मेलम्चीको पानी खान नपाएको भन्ने पत्रकारहरुको जिज्ञासामा उनले श्रमदान गर्न आउन प¥यो कि भन्दै व्यङ्ग्य समेत गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology