काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन संविधान समाप्त पार्ने उद्देश्यले गरिएको आरोप लगाएका छन् । शुक्रवार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रदर्शनबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले तीनकुनेमा भएको प्रदर्शनमा संविधान उल्ट्याउने र व्यवस्था मास्ने उद्देश्यले अमर्यादित र हिंसात्मक क्रियाकलापहरु भएको बताए । उनले राजावादी समूहले शान्तीपूर्ण आन्दोलन गर्ने अनुमति लिएर निजी सम्पती तोडफोड आगजनीमा उत्रिएको आरोप लगाए ।
लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक गरेको अभिव्यक्ति, फागुन २५ को प्रदर्शन तथा राजावादी नेताहरुले दिएको अभिव्यक्ति केलाएर हेर्दा संविधान र व्यवस्था उल्ट्याउने उद्देश्य नलुकेको जिकिर गरे ।
‘तीनकुनेमा भएको प्रदर्शन तथा कार्यक्रम नेपालको वर्तमान संविधानलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको हामीले अवलम्वन गरेको राज्य व्यवस्था र प्रबन्धलाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो ।’ उनले भने, ‘यदि यो शान्तीपूर्ण रुपमा आफ्ना धारणाहरु राख्ने, सरकारलाई खबरदारी गर्ने, आफ्नो विचारहरु अभिव्यक्त गर्ने र सरकारको ध्यानाकर्षण गर्ने उदेद्दश्यले मात्र प्रेरित थियो भन्ने भ्रममा हामी प¥यौं भने ठिक हुदैन । यसको मुख्य उद्देश्य नै संविधान समाप्त गर्ने थियो ।’
प्रदर्शनको नेतृत्व गर्नेहरुले नै भिडलाई हिंसात्मक र निजी सम्पतीमाथि आगजनी गर्न उत्साएको उनको आरोप छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology