काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नेगरी काम भइरहेको बताएका छन् । बिहिवारको प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले विमानस्थलमा यात्रु सेवा शुल्कमा छुट, ग्राउण्ड ह्याण्डलिङ, ल्याण्डिङ, पार्किङ एण्ड नेभिगेसन शुल्कमा छुट तथा प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा ल्याइएको उदावी गरे ।
उनले श्रम तथा रोजगार कार्यालय बुटवलबाट श्रम स्वीकृति प्रदान गर्न समेत शुरु भएको उल्लेख गर्दै अध्यागमन, मुद्रा सटही लगायतका बैंकिङ सुविधा विमानस्थलमै प्रदान गर्ने व्यवस्था मिलाइएको र बाँकी कामहरु सकेर विमानस्थललाई छिट्टै पूर्ण क्षमतामा सञ्चालन गर्ने बताए ।
सोहि अवसरमा प्रधानमन्त्री ओलीले सरकार युवाहरुलाई स्वदेशमै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्न दत्तचित्त भएर लागिरहेको बताए । युवाहरु उच्च शिक्षा तथा रोजगारीका लागि विदेश जाने कुरालाई नकारात्मक रुपमा लिन नहुने बताउदै उनले स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दीगो आधार तयार गर्ने उद्देश्यले सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन भर्खरै सम्पन्न गरेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले जलन पीडितहरुको उपचार तथा पुनःस्थापनाका सम्बन्धमा सरकार संवेदनशील रहेको बताए । जलन पीडित र जलनका घाइतेहरुको उपचार र क्षतिपूर्तिको सन्दर्भमा आफू व्यक्तिगत रुपमा समेत गम्भिर रहेको उनको भनाइ छ । ओलीले तेजाव र अन्य रसायनिक घातक पदार्थ नियमन ऐनले प्रयाप्त व्यवस्था गरेकोले उक्त विधेयकको छलफलका क्रममा सरकारले आधिकारिक धारणा राख्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology