देवदह । बिहिवारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुपन्देहीको देवदह क्षेत्रबाट एक हजार १०० जना विद्यार्थी सहभागि हुने भएका छन् । परिक्षामा नियमित तर्फ आठ सय २९ र ग्रेडबृद्धि तर्फ दुई सय ७१ गरी एक हजार एक सय जना विद्यार्थी सहभागि हुने भएका हुन् ।
माध्यमिक शिक्षा परीक्षाको लागि देवदह क्षेत्रमा केरवानी माध्यमिक विद्यालय देवदह–५, देवदह माध्यमिक विद्यालय देवदह–७, महामाया भवानी माध्यमिक विद्यालय देवदह–४, र सिक्टहन माध्यमिक विद्यालय देवदह–१२ गरि ४ वटा परिक्षा केन्द्र तोकिएको छ । जस अन्तर्गत केरवानी माध्यमिक विद्यालय देवदह–५ मा ५ वटा विद्यालयका नियमित तर्फ २ सय ३ जना, ग्रेडवृद्धि तर्फ ३६ जना गरी २ सय ३९ जना विद्यार्थी सहभागि हुँदैछन् । परीक्षा बिहान ८ बजेबाट देशभर एकैसाथ सुरु हुनेछ ।
यसैगरी देवदह माध्यमिक विद्यालय देवदह–७, मा ६ वटा विद्यालयका नियमित तर्फ २ सय ३४ जना र ग्रेडबृद्धि तर्फ ६९ जना गरी ३ सय ३ विद्यार्थी परिक्षामा सहभागि हुँदैछन् । महामाया भवानी माध्यमिक विद्यालय देवदह–४ मा ८ वटा विद्यालयका २ सय ५ जना नियमित तर्फ र ग्रेडवृद्धि तर्फ ६१ जना विद्यार्थीले परिक्षा दिदैछन् ।
त्यस्तै सिक्टहन माध्यमिक विद्यालय देवदह–१२ मा देवदह क्षेत्रका ४ वटा विद्यालयका नियमित तर्फ दुई सय २९ र ग्रेडबृद्धि तर्फ ६४ जना विद्यार्थीले एसईई परिक्षामा सहभागिता जनाउँने देवदह नगरपालिकाका नगर शिक्षा अधिकृत पर्शुराम ढकालले जानकारी दिए ।
यसैगरी देवदह क्षेत्रका सिता माध्यमिक विद्यालयका नियमित तर्फका ३२ जना र ग्रेडबृद्धि तर्फका २७ जना गरी ५९जना विद्यार्थीहरुले बुटवलको जनता माध्यमिक केन्द्रमा परीक्षा दिने छन् । त्यसैगरी सिक्टहन माध्यमिक विद्यालयका नियमित तर्फका २६ जना र ग्रेडबृद्धि तर्फका १५ जना गरी ४१ जना विद्यार्थीहरुले छिपागढ माध्यमिक विद्यालय केन्द्रमा परीक्षा दिने जनाईएको छ ।
रुपन्देहीबाट २२ हजार नौ सय ७५ विद्यार्थीले एसईई दिँदै
रुपन्देहीका एक सय ७६ सामुदायिक र एक सय ७० संस्थागत विद्यालय गरी तिन सय ४६ विद्यालयबाट २२ हजार नौ सय ७५ जना विद्यार्थी यस वर्षको एसईई परीक्षामा सहभागि हुनेछन् । जसमा नियमित तर्फ १७ हजार पाँच सय १८ र ग्रेडबृद्धिका लागि चार हजार नौ सय ३९ जना विद्यार्थी रहेका छन् ।
देशैभरबाट एसईई परिक्षामा सहभागि हुने विद्यार्थीको संख्या पाँच लाख १४ हजार बढी
यस वर्षको एसईई परिक्षामा देशैभरबाट पाँच लाख १४ हजार ७१ जना बिद्यार्थीले परिक्षामा सहभागिता जनाउँदैछन् । गतवर्ष को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए । गत बर्षको तुलनामा यसबर्ष ४९ हजार दुई सय ८६ जना बिद्यार्थी बढेको परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।
कार्यालयले यसवर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology