काठमाडौं । समाजवादी विश्लेषक डा.मीना पौडेलद्धारा लिखित ‘साहस’ (महिला बेचबिखन, बहिष्कार र प्रतिकार) सार्वजनिक भएको छ । किताब पब्लिशर्स मार्फत बजारमा आएको पुस्तकमा मानव बेचबिखनको जटिल अनुभव बटुलेका युवा महिलाहरूको अनुभूतिलाई लैङ्गिक, सामाजिक–सांस्कृतिक, कानुनी र आर्थिक हिंसाका पाटो मार्फत उजागर गरिएको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थुप्रै अनुसन्धानमूलक लेख–रचना प्रकाशित गरिसकेकी पौडेलको नेपाली भाषामा यो पहिलो पुस्तक हो । पौडेलको विद्यावारिधि अनुसन्धानबाट विकसित भएर सन् २०११ मा अङ्ग्रेजीमा छापिएको यो पुस्तक फ्रेन्च, जर्मन, इटालियन, पोलिस र पोर्चुगिज भाषामा समेत प्रकाशित भइसकेको छ ।
पुस्तकले नेपालमा मानव बेचबिखन र यसका आयामहरूप्रतिको परम्परागत धारणालाई प्रश्न गर्दै समयसापेक्ष परिभाषा र आम बुझाइको खाँचो औंल्याएको पौडेलले सेतोमसीलाई बताईन् । उनले भनिन् ‘मानव बेचबिखन यौनसँग मात्र सम्बन्धित छैन, यो कुनै व्यक्तिविरुद्धको यस्तो सामाजिक अपराध हो, जुन लैङ्गिकता, यौनिकता, आप्रवासन, आर्थिक विपन्नता, सामाजिक–सांस्कृतिक अवहेलना, श्रमको विभेद, संरचनागत शक्ति असन्तुलनले सृजना गरेको हिंसा र राज्यको अर्घेल्याइँ लगायतका अनेकौं पक्षसँग जेलिएको छ ।’
पुस्तकमा महिला बेचबिखन जस्तो जटिल विषयमा अनुसन्धान गर्ने उपयुक्त विधि पनि सुझाइएको छ, जसले बेचबिखनबाट प्रभावित व्यक्तिहरूलाई केन्द्रमा राखेर समाजशास्त्रीय–महिलावादी बहसको प्राज्ञिक पैरवी गर्छ ।
रुपन्देहीको देवदहमा जन्मिएकी समाजवादी विश्लेषक पौडेल साढे तीन दशकदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय तहमा प्राज्ञिक अनुसन्धान, नीतिगत पैरवीका साथै जनपक्षीय विकास कार्यक्रमहरूमार्फत सीमान्तकृत समुदायका पक्षमा क्रियाशील छन् । त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर र बेलायतबाट मानव बेचबिखन, महिला यौनिकता र सामाजिक बहिष्कारको अन्तरसम्बन्धमा विद्यावारिधि गरेकी उनले आप्रवासनका विभिन्न आयाममा एसिया, युरोप र अफ्रिकन मुलुकहरूमा विभिन्न निकायमा आबद्ध भएर काम गरेकी छन् ।
नेपाली र बेलायती विश्वविद्यालयहरूमा प्राज्ञिक कार्यसमेत गरिसकेकी पौडेलले संयुक्त राष्ट्रसङ्घको वरिष्ठ कर्मचारीको जिम्मेवारीबाट हालै स्वेच्छिक अवकाश लिएर आप्रवासनका अन्तर्राष्ट्रिय अनुसन्धानहरूमा स्वतन्त्र सल्लाहकारका रूपमा योगदान पु¥याइरहेकी छन् ।
चैत्र ८ गते शुक्रवार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा साहस संवाद गरिदैछ । दिउसो २ बजे हुने कार्यक्रममा बक्ताको रुपमा डा. विन्दु पोखरेल, जेबी विश्वकर्मा, डा.सुरेश ढकाल लगाएतको उपस्थिति हुने पौडेलले जानकारी दिईन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology