देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालयले शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार विद्यालयको कक्षा ९ मा पढ्ने विद्यार्थीले विद्यालय शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थी लक्षित शुभकामना कार्यक्रम आयोजना गरे ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले आफुले पढाएका विद्यार्थीहरु देशले खोजेको नागरिक बन्न सकुन् भन्ने चाहना सबै शिक्षकको हुने बताए । "शैक्षिक सफलता एउटा विषय हो, त्यो आवश्यक छ । तर हाम्रो समाजले खोजेको, यो देशले खोजेको नागरिक बन्ने कुरा मुख्य हो ।" विद्यार्थीलाई शुभकामना दिंदै उनले भने, "सगरमाथामा पढेका विद्यार्थीमा त्यो गुण छ । हामी सबैले गर्व गर्ने बाटोमा यहाँहरु लाग्नु हुनेछ । यहाँहरुका हरेक पाइलामा सगरमाथासंगै हुनेछ ।"
कक्षा ९ का विद्यार्थी श्रीष पौडेलको अध्यक्षता, सलिना काफ्लेको स्वागत तथा प्रशंसा अधिकारी र डेभिड नेपालीको संचालन रहेको कार्यक्रममा विद्यालयका सहायक प्राचार्यहरु लेखनाथ काफ्ले, प्रदिप अधिकारी लगायतले विद्यार्थीलाई शुभकामना दिएका थिए ।
सो अवसरमा कक्षा १० का विद्यार्थीहरुले आफुलाई अध्यापन गराएका शिक्षकलाई सम्मान गरेका थिए भने कक्षा ९ का विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतिसंगै सृजनात्मक खेलकुदसमेत प्रदर्शन गरेका थिए ।
देवदह-७ मा अवस्थित सगरमाथा माविबाट २०८१ सालको एसइईमा ५३ जना सहभागी हुँदैछन् ।
वि.सं २०५१ सालमा ६५ जना विद्यार्थी र चार जना शिक्षकले सुरु गरेको सगरमाथामा हाल एक हजार पाँच सय २८ जना विद्यार्थी अध्ययनरत छन् भने एक सय ३ जना शिक्षक कर्मचारी कार्यरत छन् । २०६९ सालमा माध्यमिक तह सुरु गरेको विद्यालयले त्यसयता निरन्तर शत प्रतिशत नतिजा दिंदै आएको र २०६२ सालको एसएलसीमा बोर्ड सेकेण्ड गरेको विद्यालयले जनाएको छ । २०७१ सालमा कक्षा १२ मा व्यवस्थापनतर्फ पश्चिमान्चल टप गर्न समेत विद्यालय सफल भएको प्राचार्य पौडेलले बताए ।
आईएसओ सर्टिफाईड समेत भएको सगरमाथा माविबाट हालसम्म एक हजार एक सय ४३ जना विद्यार्थीले कक्षा १० उत्तीर्ण गरेको विद्यालयको तथ्यांक छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology