देवदह । रुपन्देहीको देवदहमा बालमैत्री स्थानीय शासन प्रवर्द्धन तथा बालहिंसा, बाल विवाह, कुलत, दुर्व्यसन बिरुद्ध सचेतनामूलक र्याली निकालिएको छ । देवदह नगरपालिका ८ नं वडा कार्यालयको आयोजना र वडा बाल संजालको सहआयोजनामा उक्त सचेतना र्याली भएको हो ।
सचेतना र्यालीमा देवदह ८ मा रहेका विद्यालय, बाल क्लब, जनता स्काउट दल, टोल विकास संस्था, बाल अधिकारकर्मी तथा आमा समूहको सहभागिता रहेको थियो । देवदह ८ विशालनगर बुद्ध चोकबाट व्यानर र बाल मैत्री अधिकारका प्लेकार्डसहित निस्किएको र्याली बुधबारे हाटबजार, मुखियाटोल, पाकडी चोक, शान्तिनगर चोक, बंगाला, बंगाली हुदै वडा नं ८ को कार्यालयमा पुगेर समापन भएको थियो ।
र्यालीमा बाल अधिकारको संरक्षण गरौं, बाल अधिकार प्राप्तिको सुनिश्चितता गरौं, बाल मैत्रीस्थानिय शासन कायम गरौं, बाल विवाह गैर कानुनी हो, हिंसामुक्त समाज, समृद्धिको आधार, बालश्रम अन्त्य गरौं, शिक्षामा सबैलाई जोडौं, स्वस्थ बालबालिका, सबल राष्ट्रको आधार लगाएतका प्ले कार्ड प्रदर्शन गरिएको थियो ।
र्यालीमा बोल्दै देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरी प्रसाद पाण्डेयले बाल अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । बालमैत्री स्थानीय शासन कायम गर्नका लागि विद्यालय, अभिभावक, स्थानीय सरकार, नागरिक समाज तथा सम्बन्धित सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण अर्याल, बालमैत्री सहजकर्ता बबिता भट्टराई, वडा बाल संजालका अध्यक्ष कृति न्यौपाने, सचिव सुभास्ना घिसिङ लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology