अल्ली पहिलाको कुरा हो । मस्र्याङदी गाँउपालिका ५, खानी गाँउको कथा छुट्टै थियो । ढुङ्गै ढुङ्गाका चेपहरुमा घर थिए । बारी वा खेत भनौ, जताततै यामानका चट्टानहरु थिए । गाँउमा २५ घरका २५ ढ्ङ्गाका कोप्च्याराहरुमा शौच गर्नका लागि अस्थाइ पाइखाना बनाइएका थिए । वर्षौदेखि उनीहरुले यहि जीवनशैलीमा आफूहरुलाई अभ्यस्त पारेका थिए । ढुङ्गा देख्दा रिस उठ्थ्यो । अजङ्गका ती पाषाणहरुमाथि न त खेती गर्न सकिन्थ्यो, न त मुनि बसेर तिनलाई छानो बनाउन सकिन्थ्यो । केही मिटर तल मस्र्याङ्दी नदी आफ्नै तालमा सुसाएर वगेको देखिन्थ्यो । न त्यो पानी ल्याएर सिंचाइ गर्न सकिन्थ्यो, न त हेरेर तिर्खा मेटिन्थ्यो ।
२०६८ सालमा खानीगाँउलाई अरु क्षेत्रहरुसँगै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरियो । त्यसपछि सबैका घरमा चर्पी बन्न थाले । शौच गर्ने तरिका र जीवनशैली परिवर्तन हुन थाल्यो ।
त्यँही गाँउमा एक युवा थिए । पेशाले शिक्षक । बाबा विश्वकर्माको आर्शिर्वादले पाएको जीवन ठान्ने उनको नाम थियो कामसार्कि गुरुङ । उनले यी ढुङ्गाहरुलाई कसरी जीवनसँग जोड्न सकिन्छ भनेर गम्न थाले । ती लामा कान भएका गुरुलाई अकस्मात एकदिन एउटा नयाँ जुक्ति फुर्यो । उनले एकाएक ढुङ्गा फुलेको देख्न थाले । फुलको बगौचा हुन्छ, बनस्पतिको बगौचा हुन्छ, ढुङ्गाको किन नहुने ? अब ढुङ्गै ढुङ्गाको बगौचा बजाउनुपर्छ । उनले यस्तै सोच्न थाले ।यो कुरा २०७२ सालतिरको हो । केही समयमा नै गाँउलाई समेटेर उनले यो प्रस्ताव राखे गाँउलेहरुले हँ मा हँ मिलाए । नाम राखे ढुङ्गे बगौचा यानेकी रक गार्डेन ।
लमजुङ सदरमुकाम बेसीसहरबाट उत्तरतिर मस्र्याङदी नदीको किनार किनारै मनाङ जाने बाटोमा २३ किलोटिर गुडेपछि एउटा रामबजार नामको सानो बजार आउँछ । गाडीबाट रामबजारमा ओर्लिएर मस्र्याङ्दी नदि पारि कटेर १० मिनेट उक्लीएपछि खानी गाँउ पुगीन्छ । खानी गाँउ पुग्नेवित्तिकै साना तर चिटिक्क परेका घरहरु देखिन्छन् । ती अधिकांश घरहरुमा होमस्टेका नंबर अंकित साइनबोर्ड झुन्ड्याका छन् । अलिकति नर्कटले बारेको गल्ली उक्लीएपछि रकगार्डेन सामुदायिक होमस्टे तथा दिपज्योति आमा समूहको सभा हल पुगिन्छ । हलमा आमा समूहका प्रतिनिधिहरुले साना फूलका बुके दिदै सेता अक्षेताले अभिनन्दन गरेर गलामा त्यो क्षेत्रमा पाहुँनालाई देवीदेवता ,भुतप्रेत,पिशाच केही नलागोस भनेर विशेष तरिकाले मन्त्रीएको डोरी बाधेर स्वागत गर्नुहुन्छ ।

त्यही हलको पछाडिबाट रक गार्डेनको द्धार सुरु हुन्छ । यो रक गार्डेन ढुङ्गाहरुको थुप्रो मात्र होइन, जँहा विभिन्न आकृतिका ढुङ्गाहरु थुपारेर बगैचा भनियोस् । यो त एउटा घुमाउरो ढुङ्ग्यान बाटो हो, जहाँ नँया, अनौठा, रोमाञ्चक र किञ्चित साहसिक अनुभव दिलाउनका लागि विभिन्न उपाँयाले रचिएका कोप्च्याराहरु छन् । यि कोप्च्याराहरुनै द्धार हुन । गार्डेन भरी जम्मा १९ वटा द्धारहरु छन । ती प्रत्येक द्धारहरु बगैचा घुम्ने यात्रुले पार गर्नुपर्ने छ । ती द्धारहरु यसरी यसरी डिजाइन गरिएको छ की, प्रत्येक द्धारले नयाँ र साहसिक अनुभव दिलाओस् । कहिले शरीर मर्काएर, कहिले पुरै शरीर निहुराएर त कहिले चार हातखुट्टा टेकेर ती द्धारहरु पार गर्नु पर्ने छ । करिब ३० मिनेटको यात्रा गराउने बगैचामा बगैचा भरि नै यात्रुलाइ कुनै पनि दिक्दारी नहोस भनेर विभिन्न उपाय रचिएको छ । कतै वडारहरु छन त कतै ढुङ्गामाथि बस्नका लागि आकर्षक सिमेन्टका बेन्चहरु निर्माण गरिएका छन् । कुनै ढुङ्गाहरु त यति ठुला छन् की सयौं यात्रीहरु एकै ढुङ्गा माथि बसेर मस्र्याङदी नदीको दृष्यावलोकन गदै फोटो खिचेर आनन्द लिन सक्छन ।

भविश्यको योजना के छ नी भन्ने प्रश्नको उत्तरमा कामसार्कि गुरुङ लामो फेहरिस्त सुनाउछन् । उनलाई एकै दिनका लागि भए पनि मान्छेहरुलाई अझ प्राचिन अनुभव दिलाउनु छ त्यो ठाँउमा । मान्छेहरु प्राचिन समयमा, नाङ्गै हिड्थे, काचै खान्थे र जङ्गल वा ओडारमा बस्थे । कालान्तरमा उनीहरु फेरीए । पुरै शरीर ढाक्ने कपडा लगाउन थाले, पकाएर खान थाले, अनि जंगल मासेर घर बनाउन थाले । सभ्यताको विकास सँगै उनीहरु यी कुराहरुबाट नी अघाए । उनीहरुले आप्नो नैसर्गिक गुण कहाँ हटाउन सक्थे र ? छोटा कपडा लगाएर, सलादका नाममा काँचै खाएर र घर वरिपरि बगौचाका नाममा रुखविरुवा रोपेर जंगल बनाएर आफ्नो गुण समातिरहे । मान्छेले ठाँउ र परिस्थीति पाउने वित्तिकै आफ्नो प्राचिन। रुपमा फर्किन्छ र फर्किन खोजीरहन्छ । मान्छेले लामो सभ्यता पार गरेको छ अहिलेको अवस्थामा आइपुग्नका लागि ।

अव निकट भविश्यमा रक गार्डेनका ओडारमा रात विताउने, ढुङ्गामाथि पोलेर खाने, सिजनअनुसारको जंगली फलफूलहरु काफल, औंसेलु, अम्बा, अमिली आदि टिपेर खाने, वा सिकार गर्ने आदिको व्यावस्थ गर्ने । मिनि रक क्लाइम्विङ बनाउने । प्रत्येक ओडारहरुमा छेपाराहरु छन् तिनलाई बचाउने । प्रत्येक ओडारको नामाकरण गर्ने । ७७ बटै जिल्लाबाट चट्टानहरु ल्याएर सबै जिल्लाको अपनत्व गराउन नामाकरण गरेर राख्ने । त्यहाँ भएका। बनस्पतिहरुलाई तीन वटा नाम गुरुङ, नेपाली र वैज्ञानिक नाम लेखेर टाँस्ने । प्रकृति र प्राचिनाताको पूर्ण अनुभव दिलाउदै साहसिक यात्राका बारेमा। बझाउने ।
मानिस किन साहसिक यात्रा गर्न खोन्दछ ? मान्छे एउटै तालिकाबद्ध जीवन लामो समय विताउदा दिक्क हुन्छ । सायद यसैको कारण होला साहसिक। यात्रा गर्न, खेल खेल्न र प्रकृतिमा हराउन चाहन्छ । आफ्नो जीवनका अहिले सम्मका प्राप्तिहरुलाई चुनौति दिँदै नयाँ सिमाहरु खडा गर्न चाहन्छ । दिक्कलाग्दा पारिवारिक दैनन्दिनबाट केही समयका लागि भए पनि टाढा भाग्न चाहन्छ । यो हामीलाई आवस्यक जस्तो किन लाग्छ भने हामीलाई। आत्मविश्वास निर्माण गर्न र आफू वरपरको वातावरण र संस्कृतिको गहिरो बुझाई प्राप्त गर्न यसले पथ प्रर्दशन गराउँछ । मानिस स्वाभावलै जिज्ञासु र। उत्सुक प्राणी हो । उसलाई नयाँ कुराले जहिल्यै आकर्षित पार्छ, आफूलाई नयाँ परिस्थितिमा उभ्याएर आफ्नो परिक्षण गरी आफूलाई चिन्न चाहन्छ । नयाँ। तथ्यहरुले साहसिक यात्राले हाम्रा स्टे«स, एन्जाइटि, र डिप्रेसन कम गराउछ भनेर बताउँदछन् । त्यसैले पनि आजभोली यस्ता यात्राहरु आधुनिक जीवाशैलीसँग जोडिएका छन् ।

आधुनिक जीवनशैली र साहसिकता एकअर्काका परिपुरक जस्तै भइसके । मिडिया र सामाजिक संजालले पनि हाम्रो जीवनशैली परिवर्तन गरिरहेका छन् । कहिले यिनले नयाँ ठाँउ त कहिले मानिसका फरक जीवनशैलीबाट हामीलाई प्रभावित पारिरहेका छन । यसैले पनि मानिस साहसिक र सोमाञ्चक जीवन पछ्याईरहेको छ ।
२०७४ सालमा खानीगाँउका आमा समूहले होमस्टे सेवा सूरु गरे । अहिले १२ घरमा होमस्टे सेवा उपलब्ध छ र त्यहाँ ४८ वटा सिङ्गल बेडहरु छन् । महिनामा दुइ सयदेखि तीन सयसम्म पर्यटकहरु यो क्षेत्र भ्रमणमा जान्छन् । होमस्टे सञ्चालनमा रहेको दिपज्योति आमा समूहको अध्यक्षमा सिता गुरुङ, उपाध्यक्ष युग कुमारी गुरुङ, सचिव देव कुमारी गुरुङ, कोषाध्यक्ष वैसकली गुरुङ हुनुहन्छ भने कान्छी गुरुङ, चन्द्रमाया गुरुङ र निरु गुरुङ सदस्यमा रही पूर्ण रुपमा खटिएर काम गरिरहनु भएको छ । र, यसको संरक्षक सल्लाहकारका रुपमा कामसार्कि गुरुङ रहेका छन् । त्यहीको प्रतिभा युवा क्लबले बेलुमा गुरुङ। सस्कृतिलाई लक्षित गरेर सास्कृतिक कार्यक्रमहरु देखाउने गर्छ ।
“यस्तो। रक गार्डेन नेपालमा सायदै कतै होला । लमजुङ जिल्ला मस्र्याङ्दी गाँउपालिका ५, खानीगाँउको भूगोलले यो सौन्दर्य दिएको छ । तपाईँ रोमाञ्चक यात्रा मन पराउनुहुन्छ ? तपाईँ एकजनाले घुमे पछि तपाईँका दस जनालाई म रक गार्डेन घुमे नी भन्दिनु है ” अन्तिममा कामसार्कि गुरुङ रोमाञ्चक हुँदै भन्छन् । जहाँ पनि होमस्टेका आमा समूहको सधै एउटा खासियत हुन्छ विदाइको टिका भावुक भएर लगाइदिने । यहाँ पनि यस्तै भयो । र, मनमा लागिरहयो, साच्चै धनी छ यो हाम्रो देश संस्कृति र प्रकृतिमा । अनि, लाग्यो अहिलेसम्मको यात्रामा सबैभन्दा नयाँ यही लाग्यो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology