काठमाडौं । लुम्बिनी प्रदेशकी नेकपा एमाले सांसद रेखा शर्माले एक बालिकामाथि ६ वर्षसम्म बन्धक बनाई श्रमश्रोषण गरेको विषयमा मानव अधिकार आयोगले छानबिन तथा अनुसन्धान थालेको छ । बुधवार आयोगले एक विज्ञप्ति जारी गर्दै स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानबिन तथा अनुसन्धान थालेको जानकारी गराएको हो ।
‘लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले ६ वर्षसम्म बन्धक बनाई श्रमशोषण गरेको भनिएको घटनामा उन्मुक्ति दिएको भन्दै सञ्चार माध्ययममा प्रकाशित समाचारपछि आयोगले स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानबिन तथा अनुसन्धान प्रारम्भ गरेको छ ।’ आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
साथै मानव अधिकार आयोगले सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पत्राचार गरी नेपाल प्रहरीबाट सरकारी वकिल कार्यालय समक्ष पेश गरेको रायसहितको प्रतिवेदन माग गरेको छ । उक्त प्रतिवेदन ७ दिनभित्र उपलब्ध गराउन समेत पत्राचार गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि माघ २८ गते घरमा बालश्रमिक राखेकी लुम्बिनी प्रदेश सभाकी सांसद रेखाकुमारी शर्मालाई सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको थियो । जुन रायसहितको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology