देवदह । रुपन्देहीको देवदह नगरपालिकामा पाठेघरको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस विरुद्धको (एचपीभी) खोप लगाइने भएको छ । फाल्गुन १ देखि ६ गतेसम्म नगरपालिकाका तीन हजार ४०४ जना किशोरीलाई एचपीभी खोप लगाउने तयारी गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
मंगलबार नगरपालिका सभाहलमा नगरपालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारीहरूका लागि अभिमुखीकरण तथा पत्रकार एवं सञ्चारकर्मीहरूबीच अन्तर्क्रिया गोष्ठीमा बोल्दै स्वास्थ्य शाखा प्रमुख काशीराम बन्जाडेले कक्षा ६ देखि १० सम्म विद्यालयमा अध्ययनरत ३३०३ जना र विद्यालयको पहुँचबाट बाहिर रहेका १० देखि १४ वर्षसम्म उमेर समुहका १०१ जना गरि तीन हजार ४०४ जनालाई खोप लगाइने बताए ।
खोप लगाउनको लागि हरेक विद्यालयमा स्वास्थ्यकर्मी पुग्ने र विद्यालय बाहिरका किशोरीलाई समेत विद्यालय वा नजिकको स्वास्थ्य सेवा केन्द्रमा खोप लगाउने व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।
एचपीभी खोप अभियान देशैभरी संचालन भैरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा माघ २२ गते बालुवाटरस्थित शिवपुरी माध्यामिक विद्यालयबाट किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गरेका हुन् । जस अनुसार किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन फागुन ६ गतेसम्म देशैभरी खोप अभियान चलिरहेको छ ।
अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाइने सरकारको योजना छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरबाट प्रतिदिन चार जना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सर ह्युमनपापिलोमा भाइरस संक्रमणले हुन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ ।
वि सं २०७२ मा कास्की र चितवनमा पाइलट कार्यक्रमको रुपमा सुरु गरिएको एचपीभी खोप अभियान आर्थिक वर्ष २०७६/०७७ मा सरकारको नीति तथा कार्यक्रममा समावेश भएको हो । आर्थिक वर्ष २०८०/०८१ मा ७ वटा प्रदेश का ७ वटा अस्पतालमा १० हजार किशोरीहरुलाई ६/६ महिनाको फरकमा खोप लगाइएकोमा २०८१/०८२ मा देशैभरी एचपीभी खोप अभियान जारी छ ।
यो खोप ९५ प्रतिशत प्रभावकारी रहेको र महिनावारी हुँदा पनि सुरक्षित रूपमा लगाउन सकिने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
विश्व स्वास्थ्य संघले सन् २०३० सम्म विश्वबाट पाठेघरको क्यान्सर उन्मुलन गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्य अनुसार नेपाल लगायत विश्वका अधिकांश देशमा एचपीभी खोप लगाइदै आएको छ ।
सन् १९८० को दशकमा वैज्ञानिकहरूले पाठेघरको क्यान्सर र एचपीभी भाइरसबीचको सम्बन्ध पत्ता लगाएपछि जर्मन वैज्ञानिक ह्याल्ड जुर हाउसेनले एचपीभी संक्रमणले पाठेघरको क्यान्सर निम्त्याउन सक्छ भन्ने प्रमाणित गरेका हुन् । सन् २००८ मा यस अनुसन्धानका लागि उनलाई नोबेल पुरस्कार समेत प्रदान गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology