राजेश पराजुली, पोखरा । पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुने भएको छ । २४ डिसेम्बरदेखि ‘बीवाईडी इन्टरनेसनल बेलुन महोत्सव’ हुने भएको हो । नेपालमा पहिलो पटक हुन लागेको उक्त बेलुन महोत्सव ९ दिनसम्म चल्ने बेलुन नेपाल प्रालिले जनाएको छ ।
महोत्सवमा झन्डै दुई दर्जन बेलुन उडाइने भएको छ । पर्यटन क्षेत्रलाई कोरोना महामारीपूर्वको अवस्थामा ल्याउन सक्रिय भूमिका खेल्ने विश्वास बेलुन नेपाल प्रालिको छ ।अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायत विभिन्न देशको प्रतिनिधित्व हुनेछ ।
महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटक पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रमा टेवा पुर्याएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने आयोजकले दाबी गरेको छ । ४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमशृङ्खला सहित माछापुच्छ्रे र धौलागिरि साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिने आयोजकको भनाइ छ ।
यस्तै महोत्सवमा सूर्योदय र सूर्यास्तका दृश्य पनि प्रमुख आकर्षण रहेको छ । महोत्वसमा हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुनेछ ।
महोत्सव अवधिभरि पोखराका स्थानीय सांगीतिक ब्यान्ड साथै दीपक बज्राचार्य एन्ड टिम, राजु लामा एन्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एन्ड ख्वपः ब्यान्ड जस्ता नेपाली कलाकारको सांगीतिक प्रस्तुति पनि दैनिक हुनेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology