नविन लुइँटेल, देवदह । संगिनी महिला बचत तथा ऋण सहकारी संस्था देवदह–६ को १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शिवालय सामुदायिक वन उपभोक्त समुहको सभाहलमा भएको कार्यक्रमलाइ सम्बोधन गर्दै देवदह नगरपालिकाकी उप प्रमुख विद्या लक्ष्मी गुरुङ्गले फजुल खर्चलाइ कटौती गरेर बचत गर्ने बानीको विकास गर्नुपर्ने बताईन् ।
‘एक का लागि सबै, सबैका लागि एक’ भन्ने मुल मर्मलाई आधार मानेर सहकारीले समाजलाई आर्थिक गतिविधिसँग जोड्ने काम गरेका छन् ।’ उनले भनिनु्, ‘आजको बचत भोलीको लागि सुरक्षा भएकाले बचत गर्ने बानीको विकास गर्न आवश्यक छ ।’
देवदह नगरपालिका भित्र रहेका ४२ सहकारी मध्ये महिलाहरुले सञ्चालन गरेका ६ वटा सहकारी रहेको बताउँदै उपप्रमुख गुरुङ्गले संगिनीले महिलाहरुलाई सशक्त बनाई आयआर्जनमा जोड्न सफल भएको भन्दै प्रशंसा गरिन् । उनले नगरपालिकाले समेत महिला सशक्तिकरणको क्षेत्रमा काम गरिरहेको बताउँदै उप–प्रमुखसङ्ग महिला कार्यक्रम मार्फत त्यस्ता क्रियाकलापहरु सञ्चालन भईरहेको बताइन् ।
कार्यक्रममा देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष तथा नेपाल भारत मैत्री संघका उपाध्यक्ष वासुदेव रिमाल, गाउँ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारयण अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीहरु सेयर सदस्यमुखी हुनुपर्ने धारणा राखे ।
सोहि अवसरमा संस्थामा बचत गर्ने ७० वर्ष भन्दा माथिका ६ जना वृद्ध÷बुद्धाहरुलाई नगद सहित सम्मान गरियो । त्यसैगरी उत्कृष्ट बचतकर्ता, उत्कृष्ट सेयर बचतकर्ता, असल ऋणि तथा कारोबारी र उत्कृष्ट बाल बचतकर्तालाई समेत कार्यक्रमको अवसरम सम्मान गरिएको व्यवस्थापक शशिकला खनालले बताईन् ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष देवकला अधिकारीले आर्थिक बर्ष २०८०÷०८१ को एक करोड ५९ लाख बयासी हजार ६ सय रुपैंया बराबरको आयव्यय प्रस्तुत गरिन् । चार सय पाँच जना सेयर सदस्य रहेको संस्थाले गत आर्थिक बर्षमा चार लाख २९ हजार ६ सय रुपैंया खुद नाफा कमाउन सफल भएको कोषाध्यक्ष अधिकारीले जानकारी गराइन् ।
अध्यक्ष ज्ञान कुमारी खडालले वार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक दिलमाया आलेले लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गरेको उक्त कार्यक्रम उपाध्यक्ष लक्ष्मी सुनारको स्वागत र शशिकला खनालको सञ्चालनमा सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology