देवदह । रुपन्देहीको देवदहमा एक पसलमा चोरी भएको छ । देवदह-७ शितलनगरस्थित श्री गणेश इलेक्ट्रोनिक पसलमा सोमबार दिउँसो २ बजे चोरी भएको प्रहरीले जनाएको छ ।
सेतोमसीसंग कुरा गर्दै श्री गणेश इलेक्ट्रोनिकका संचालक हरी भण्डारीले दिउँसो २ बजेर २ मिनेटको समयमा पसलको काउण्टर खोली १० हजार नगद चोरी गरेको बताए । "पसलमा कोही नभएको अवस्थामा काउन्टर नजिकै रहेको साँचोले काउण्टर खोलेर एकजना युवकले चोरी गर्दै गरेको दृश्य सिसि क्यामरामा कैद भएको छ ।" उनले भने, "यसबारे प्रहरीलाई जानकारी गरिएको छ । आवश्यक अनुसन्धानपछि चोरी गर्ने व्यक्तिलाई कारवाही गर्न अनुरोध गर्दछु ।"
खैरेनी प्रहरी चौकीले सिसिटिभीको अध्ययन भैरहेको र अनुसन्धान अघि बढाइएको जनाएको छ । प्रहरी इन्स्पेक्टर एक्क बहादुर नेपालीले प्रहरीको टोलीले घटनास्थलको अवलोकन गरिसकेको र चोरी कार्यमा संलग्नको खोजी कार्य अघि बढाइएको बताए ।
देवदहमा पछिल्ला दिनमा चोरीका घटनामा वृद्धि भएका छन् । रातीको समयमा मोटरसाइकल चोरी भएका घटना सार्वजनिक भैरहेको अवस्थामा पसलको काउन्टरबाट नगद चोरीको घटना सतहमा आएको हो ।
देवदहमा गतवर्ष मन्दिरमा राखिएका दानपेटिकाबाट समेत रकम चोरी भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology