देवदह । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) रुपन्देहीले मङ्सिर १० गतेभित्र पालिकाहरुको अधिवेशन सक्ने निर्णय गरेको छ । आइताबार सम्पन्न प्याब्सन रुपन्देहीको जिल्ला बैठकले यस्तो निर्णय गरेको जनाइएको छ ।
प्याब्सन देवदह अध्यक्ष समेत रहेका जिल्ला सदस्य रामबहादुर गुरुङले मङ्सिर १० गतेभित्र अधिवेशन सम्पन्न गर्ने निर्णय जिल्ला समितिले गरेको जानकारी दिए । "संगठनको नीतिनियम अनुसार पालिकाहरुमा योग्य र सक्षम नेतृत्व निर्वाचित गर्ने र संगठनका सांगठनिक तथा आर्थिक प्रतिवेदन जिल्लामा बुझाउने निर्णय भएको छ ।" अध्यक्ष गुरुङले भने ।
प्याब्सनले हालसम्म संचालन गरेका विभिन्न कार्यक्रम, गतिविधि र ऐतिहासिक दस्तावेजलाई लिपिबद्ध गर्नको लागि बिगतका अधिवेशनहरुमा जस्तै स्मारिका प्रकाशन गर्ने निर्णय समेत गरेको छ । प्रकाशित हुन लागेको स्मारिका संयोजन र सम्पादनको लागि बैठकले उपसमिति गठन गरेको छ । जसको संयोजकमा बोधराज गौडेलको तथा सदस्यहरुमा राम बहादुर गुरुङ र महेश पराजुली रहेका छन् ।
त्यसैगरी केन्द्रिय प्याब्सनले आफ्ना सदस्य विद्यालयहरुको सबै गतिविधिहरुलाई समेट्ने गरी निर्माण गरिरहेको डिजिटल रजिष्ट्रेशनमा सम्पूर्ण विद्यालयहरुलाई यथासक्य चाँडो जोड्न र जोडिनु समेत बैठकले आग्रह गरेको जनाइएको छ ।
संगठनका अध्यक्ष अनन्तराम शर्माको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष एक नारायण काफ्लेको स्वागत र सचिव दिपक खनालको सञ्चानलनमा बैठक सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology