देवदह । ब्राह्मण समाज देवदहको तेस्रो साधारण सभा सम्पन्न भएको छ । शनिबार देवदह-४ भवानीपुरमा नगर कार्यसमितिको वार्षिक साधारण सभा सम्पन्न भएको समाजका सचिव हुमप्रसाद पाठकले जानकारी दिए ।
साधारण सभालाई सम्बोधन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले वर्तमान अवस्थामा सिंगो समाजलाई एकतावद्ध बनाउन आवश्यक रहेको बताए । नगरप्रमुख खरेलले भने "समाजमा रहेको विकृति विसंगतिलाई अन्त्य गर्न आवश्यक छ । " उनले सभ्य समाज निर्माण गर्न सवै लाग्नु पर्नेमा जोड समेत दिए ।
"अहिले समाज अराजकता तर्फ अगाडि बढेको छ । धर्म, संस्कार, संस्कृतिको संरक्षणले मात्र संस्कार सहितको समाज निर्माण गर्न सकिन्छ ।" नगर प्रमुख खरेलले भने, "त्यसको लागि सबै धर्म, संस्कार र संस्कृतिको संरक्षण आवश्यक छ ।"
सोही अवसरमा बोल्दै ब्राहमण समाज नेपालका केन्द्रिय सचिवालय सदस्य पार्वती भण्डारीले जातको आधारमा नभई वर्गीय आधारमा आरक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । धर्म, संस्कार, संस्कृतिको संरक्षणको लागि संगठन स्थापना गरिएको बताउदै उनले सरकारले ब्राहमण समाजलाई उपेक्षा गरेको आरोप लगाइन् ।
देवदहका १२ वटै वडाबाट झाँकीसहित उपस्थित कार्यकर्ता माझमा सम्पन्न साधारण सभाले संस्कृतिको संरक्षण गर्ने, सदस्य संख्या वृद्धि गर्ने लगायत निर्णय गरेको जनाइएको छ । सेतोमसीसंग कुरा गर्दै सचिव पाठकले हाल एक हजार २०९ जना साधारण सदस्य रहेकोमा आगामी वर्ष ३ हजार साधारण सदस्य र १ हजार आजीवन सदस्य पुर्याउने लक्ष्य रहेको बताए । एक घर एक ब्राहमण समाजको आजीवन सदस्य बनाउने रणनीति अनुरुप सदस्यता विस्तार कार्यलाई तिब्र पारिने उनको भनाई छ ।
ब्राहमण समाज नेपाल देवदह नगर समितिका अध्यक्ष विष्णुप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा समाजका जिल्ला अध्यक्ष टोपलाल भूषाल, देवदह नगरपालिका–४, का वडाअध्यक्ष दमननाथ रेग्मी, दर्शन कल्याण ठकुरी समाज देवदहका अध्यक्ष शिला मल्ल लगायतले बोलेका थिए ।
ब्राहमण समाज नेपाल देवदहका सहसचिव धनश्याम भण्डारीको स्वागत र सचिव हुमप्रसाद पाठकको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology