देवदह । ताइवानको चुजी फाउन्डेसनका उपाध्यक्ष (भाइस प्रेसिडेन्ट) लिन जिङ-सियान नेतृत्वको टोलीले शनिबार देवदहको भ्रमण गर्यो । गत महिना ताइवानको भ्रमणमा गएका लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईको निमन्त्रणामा लुम्बिनी आएको चुजी फाउन्डेसनको टोली कोषाध्यक्ष भट्टराई कै अनुरोधमा देवदह आएको उपाध्यक्ष लिन जिङ-सियानले बताइन् ।
ताइवान, चीन, मलेसिया लगायतका देशका नागरिक रहेको २० जनाको टोलीको नेतृत्व गर्दै देवदह आएकी लिनलाई देवदह नगरपालिका, ड्रिम देवदह र कोलिय क्षेत्र विकास समितिले एक कार्यक्रमबीच स्वागत गरे । भवानीपुरको मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रमा बोल्दै उपाध्यक्ष लिनले मायादेवी, प्रजापति गौतमी र यशोधराको पवित्र जन्मस्थलमा पाइला टेक्न पाएकोमा आफु पवित्र भएको महसुस गरेको बताइन् ।
उपाध्यक्ष लिनले देवदह महान नारीहरूको जन्मभूमि भएपनि विकासको गति पक्रिन नसकेको भन्दै उनले दु:ख व्यक्त गरिन् । "यस्तो पवित्र स्थानमा यहाँ बहने हावामा मैले मायादेवीलाई महसुस गर्न सकिन ।" भवानीपुरको विकास हुन नसकेको तर्फ संकेत गर्दै उनले भनिन्, "मलाई लाग्छ, जतिवेला मायादेवीको जन्म भयो, त्यो बेला पनि यो स्थान यस्तै थियो होला । यहाँ गर्नुपर्ने धेरै काम छ । यो सामान्य भूमी होइन, विश्वको लागि नै पवित्र भूमी हो ।"
कार्यक्रममा बोल्दै उनले आफ्नो फाउन्डेसनले लुम्बिनीमा प्राविधिक शिक्षाको क्षेत्रमा काम गर्न थालेको बताइन् । देवदहको पर्यटनको विकासमा आफूहरूले केही गर्न सक्ने यहाँको स्थानीय सरकारलाई लाग्छ भने आफूहरू सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै उनले बौद्ध गुरुमा उपेख्खाले नेतृत्व गरिरहेको अन्तराष्ट्रिय भिक्षुणी संघलाई सहयोग गर्न आफूहरू इच्छुक रहेको बताइन् ।
उपाध्यक्ष लिनको टोलीलाई स्वागत गर्दै लुम्बिनी विकासको कोषका कोषाध्यक्ष तथा ड्रिम देवदहका अध्यक्ष भट्टराईले पर्यटन विकासको लागि देवदह भर्जिन ल्याण्ड भएको बताए । "यो बुद्ध माता मायादेवी, सानीआमा प्रजापति गौतमी र बुद्धकी जीवनसाथी यशोधरा जन्मिएको पवित्र भुमि हो । यो बुद्ध आफै आएर उपदेश दिएको स्थान हो र यो ऐतिहासिक कोलिय राज्यको राजधानी हो ।" भट्टराईले भने, "यहाँको विकासले मात्र देवदहको विकास हुनेछैन, समग्र बुद्ध दर्शन र विश्वशान्तिको लागि देवदहको विकास अत्यावश्यक छ । यहाँको पर्यटकीय विकासमा लुम्बिनी विकास कोष र स्थानीय सरकार सबैसंग हातेमालो गर्न तयार छ ।"
उपाध्यक्ष लिनको स्वागत कार्यक्रममा देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, अन्तराष्ट्रिय भिक्षुणी संघका अधिपति गुरुमा उपेख्खा लगायतको उपस्थिति रहेको थियो भने देवदह मगर संघ वडा नं ४ ले सांस्कृतिक प्रस्तुति समेत देखाएको थियो ।
बिहान लुम्बिनीबाट देवदहमा आई यहाँको भ्रमण सकेर रामग्राम गएको टोली पुन: लुम्बिनी फर्किएको छ ।
जब उपाध्यक्ष लिनले मायादेवीले पानी पिउने पोखरी खोजिन् ...
कार्यक्रममा बोल्दै उपाध्यक्ष लिनले जिज्ञासा व्यक्त गरिन् । "यो मायादेवीको जन्मस्थान हो भने माता मायादेवीले पानी पीउने कुनै कुवा पोखरी होला नी !" उनले जिज्ञासा सहित अनुमति मागिन्, "के मायादेवीले पानी पिउने स्थानको एक थोपा पानी हामी लिन सक्छौं होला ?" उनको यस्तो जिज्ञासाले औपचारिक कार्यक्रममा सहभागीहरू आश्चार्यचकित भए । 'केहीले हुन्छ अलि माथि छ भन्दै देवदह दह तर्फ संकेत गरे भने केहीले यहीं ऐतिहासिक कुवा छ' भन्दै कानेखुसी गरे ।
औपचारिक कार्यक्रम पछि उपाध्यक्ष लिनको टोलीले एउटा तामाको ओम्खारामा भवानीपुरको ऐतिहासिक कुवाबाट एक ओम्खारा पानी निकाल्यो । सबैतीर क्यामराले भिडियो छायांकन गर्दै उपाध्यक्ष लिनले श्रद्धापुर्वक कुवाबाट निकालेको पानीलाई उनीहरुले बोतलमा राखे । मायादेवीले पानी पिउने कुवाको पानी भएको तामाको ओम्खारा हातमा लिएर उपाध्यक्ष लिनले संगै आएका ताइवानका संचारमाध्यमलाई आफ्नो बाइट दिंदै मायादेवीले पिउने जल आफुले स्पर्श गर्न पाउँदा आफु पवित्र भएको बताइन् ।
पानी मात्र होइन, भवानीपुरको एक मुठी माटोसमेत एउटा सानो प्याकेटमा राखेर उनीहरूले देवदहको कोशेलीको रूपमा त्यसलाई लिएर गएका छन् ।
यसले विदेशीहरू जो बुद्ध धर्ममा आस्था राख्छन र विश्व शान्तिको कामना गर्छन् । उनीहरूको लागि देवदह कति प्यारो र पवित्र छ भन्ने कुरा देखाएको स्थानीयहरू बताउँछन् ।
देवदहमा पाँच तारे होटल बनाउने लगानीकर्तालाई सहयोग गर्छौँ : नगर प्रमुख खरेल
देवदहको भवानीपुरसहित कन्यामाई, स्मृति पार्क लगायतका स्थानमा भ्रमण गरेको फाउन्डेसनको टोलीलाई देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले भेटेका छन् । भ्रमण टोलीसंग लन्च मिटिंङ् गर्दै नगर प्रमुख खरेलले देवदहमा पाँच तारे होटल बनाउने लगानीकर्ता आए नगरपालिकाले सहयोग गर्ने बताए ।
यहाँ आउने पर्यटकलाई स्तरिय आवासको लागि पनि तारे होटल आवश्यक रहेकोले फाउन्डेसनले आवश्यक समन्वय गर्न सके आफुहरुले सहयोग गर्ने उनले बताए ।
"मातृशक्तिको पवित्र भुमि देवदह हो । यसको पर्यटकीय सम्भावना हामीले देखेका छौं र त्यसमा काम गरिरहेका छौं ।" उपाध्यक्ष लिनसंगको कुराकानीमा प्रमुख खरेलले भने, "देवदहको विकासमा देशीविदेशी संघसंथाहरूसँग हातेमालो गर्न हामी तयार छौं ।"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology