पाल्पा । पाल्पा जिल्लामा यो वर्ष दुईसय २५ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्थित पाल्पा अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार गराउन आएकामध्ये सो संख्यामा संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस बाहेक अन्य स्वास्थ्य संस्था र निजी मेडिकलमा पनि संक्रमित फेला परेको तर तथ्यांकमा उल्लेख नगरिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसिएन मधुसुधन भट्टराईले जानकारी दिए ।
गत वर्ष पाल्पामा तिन सय २७ जनामा संक्रमण पुष्टि भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । यो मौसममा स्क्रब टाइफसका संक्रमित धेरै भेटिने चिकित्सकहरु बताउँछन् ।
स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने गर्दछ । यो जीवाणु मुसामा समेत पाइने गर्छ । विशेष गरी खेतबारीमा काम गर्ने क्रममा किर्नाले टोक्दा यो समस्या देखिने गर्छ ।
समयमै उपचार नगरे मस्तिष्क, कलेजो, फोक्सो लगायत अङ्गमा यसले संक्रमण गराउँछ भने बहुअङ्ग विकार (मल्टी अर्गान डिस्फङ्सन) को अवस्था पनि सिर्जना हुन सक्ने चिकित्सकहरुको भनाई छ । यो रोग लागेमा उच्च ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, टाउको धेरै दुख्ने, आँखा रातो हुने, जोर्नी र मांशपेशी दुख्ने खोकी लाग्ने, वान्ता आउने, पेट दुख्ने, पखला लाग्ने, शरीरमा रातो बिमिरा आउने टोकेको ठाउँमा कहिलेकाहीँ कालो दाग देखिने जस्ता लक्षण देखा पर्दछ ।
खेतबारीमा वा झारपात बढी भएको ठाउँमा काम गर्ने, जंगलमा जाने मानिसमा यो रोग सर्ने बढि जोखिम हुनेगर्छ । यस्तो ठाउँमा मुसाको बासस्थान हुने भएकाले मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेर यो रोग सर्ने सम्भावना हुन्छ ।
मानिसबाट मानिसमा नसर्ने स्क्रब टाइफसबाट जोगिन खाली खुट्टा खेतबारी वा जंगलमा नजाने र जानै परेमा गमबुट लगाउने र शरीर पुरै ढाकिने गरी कपडा लगाउनुपर्छ । जसले शरीरमा किर्ना प्रवेश गर्न पाउँदैन र त्यसको टोकाइबाट बच्न सकिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology