पशुपति यादव, धकधई । अन्तराष्ट्रिय बौद्ध समाज र चुजी फाउण्डेसनको आयोजना तथा रोहिणी गाउँपालिकाको समन्वयमा बाढी प्रभावितलाई राहत वितरण गरिएको छ । लगातर भइरहेको अविरल वर्षाका कारण जिल्लाको पुर्वदक्षिण भेगमा पर्ने रोहिणी गाउँपालिकाका प्रभावित ३०० घरपरिवारलाई राहत वितरण गरिएको राहत वितरण संयोजक भिक्षु मैत्रेयले बताए ।
बाढीले डुबानमा परेका रोहिणी गाउँपालिका वडा नं. १ कुस्मीका ३१ परिवार, वडा नं. ३ सेमरहवाका ४० परिवार र वडा नं. ४ छिपागढ, पकडिहवा, बिर्नी, सुईलिहवा, खुरहुरिया, कोटहवा र कदमहवाका २२९ घरपरिवारलाई टोलटोलमा प्रत्यक्ष पुगेर राहत सामाग्री वितरण गरिएको उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले अन्तराष्ट्रिय बौद्ध समाज र चुजी फाउण्डेसनले गाउँपालिकासँग समन्वय गरी बाढीबाट प्रभावित पिडित परिवारलाई मानवीय सेवाभावले सहयोग गरी पुनित कार्य गरेको बताए । उनले विपदका बेला एकअर्काले आफु सक्दो साथ र गर्नुपर्ने कुरामा जोड दिए ।
रोहिणी गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष तारानाथ यादव, सञ्चारकर्मी र सामुदायिक सिकाई केन्द्रका प्रतिनिधिहरु लगायतको उपस्थितिमा राहत वितरण कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology