देवदह । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल सँगै जुकाको औषधि खुवाउदै छ । राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत पाँच वर्ष मुनिका बालबालिकालाई औषधि खुवाउन लागिएको हो ।
मन्त्रालयले १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने पाँच वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । जसको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
यसैबीच देवदह-७ मा एक औपचारक कार्यक्रम गरी औषधि खुवाउने कार्यक्रमको सुरुवात गरिएको छ । कार्यक्रममा बोल्दै देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेलले बालबालिकालाई औषधि खुवाउन सबै जनशक्ति परिचालन गरिएको बताए । भिटामिनको कमिले बालबालिका अशक्त समेत हुन सक्ने हुँदा कसैलाई पनि यो औषधि नछुटाउन उनले आग्रह गरे ।
कार्यक्रममा देवदह-७ का वडा अध्यक्ष कृण प्रसाद अधिकारी, आधारभूत स्वास्थ्य शेवा केन्द्र शितलनगरका प्रमुख हेमलाल कुवर लगायतले बोलेका थिए ।
देवदह नगरपालिकाका ५ हजार ७५ जना बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइदै छ । ४८ वटा केन्द्रमा ९७ जना स्वयंसेविका परिचालन गरेर औषधी खुवाउने व्यवस्था मिलाइएको देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले जानकारी दिए । 'आज सम्बन्धित केन्द्रमा औषधि खुवाइन्छ । यदि कोही छुटेको खण्डमा भोलि घरमै गएर भएपनि औषधि खुवाइने छ ।" स्वास्थ्य शाखा प्रमुख बन्जाडेले सेतोमसीसंग भने ।

६ महीनादेखि ५९ महीनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि २०५६ सादेखि खुवाउन थालिएको हो ।
भिटामिन 'ए' ले शरिरलाई बिभिन्न किसिमका संक्रमण हुनबाट बचाउँछ । आँखालाई स्वस्थ राख्दछ । बालबालिकाको बृद्वि विकासमा महत्वपूर्ण सहायता गर्दछ । यो आमाको बिगौती दुध, सिङ्गो माछा, जनावरको दूध, हरिया सागपात, कर्कलो, जनावरको कलेजो र किड्नी अन्डा, पहेँला फलफूल, तरकारी, फर्सी मेवा आदिमा स्रोतको रुपमा पाइन्छ भने तयारी क्याप्सुलको रुपमा बिभिन्न मात्रामा सुरक्षीत साथ तयार पारिएको हुन्छ । यसलाई अत्यन्तै महत्वपूर्ण र स्वस्थबर्द्धक पोषक तत्वको रुपमा मानिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology