पोखरा । पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुन:निर्माणलाई तीव्रता दिइएको छ ।
विसं २०७२ को भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित हुने खतरा बढेकाले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले एक वर्षयता पुन:निर्माणलाई अगाडि बढाएको थियो ।
यही असोज महिनामा घटस्थापनाको दिन पारेर पूर्वपट्टिको ढोका राखिएको छ ।
पुरानै स्वरुप प्यागोडा शैलीमा पुन:निर्माण गर्न लागिएको उक्त मन्दिरका झ्याल, ढोकामा बुट्टा भर्न भक्तपुरबाट ६ कालीगढ मगाएर काम भइरहेको छ ।
दसैँमा पुन:निर्माण सक्नेगरी काम अगाडि बढाइएको भए पनि मन्दिर पुन:निर्माणको विषयलाई लिएर पुरातत्व विभाग र समितिको कुरा बाझिएपछि काम ढिला भएको थियो ।
पछिल्लो समय पुरातत्व विभागको निर्णयअनुसार नै पुनःनिर्माणलाई अगाडि बढाइएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष निर्मल खत्रीले जानकारी दिए ।
तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले दुई करोड र पुरातत्व विभागले रु २५ लाखगरी कूल रु दुई करोड २५ लाखको लागतमा मन्दिरको पुनःनिर्माण सक्नेगरी योजना अगाडि बढाइएको हो ।
समितिले १० करोडको लागतमा गुरुयोजना नै तयार गरी मन्दिर पुनःनिर्माणलाई अगाडि बढाएको भए पनि पुरानो स्वरुपमा मन्दिर नबन्ने भन्दै पुरातत्व विभागले कामलाई रोकिदिएको थियो ।
अबको ६ महिनाभित्र मन्दिर पुन:निर्माणको सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको मन्दिर व्यवस्थापनले जनाएको छ ।
फेवातालको बीच भागमा तीन रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा स्वदेशी तथा विदेशी दर्शनार्थीको बाह्रै महिना भिड लाग्ने गर्छ ।
स्वदेशी तथा विदेशी दर्शनार्थीले दानस्वरुप प्रदान गरेको चार करोड ७० लाख समितिको अहिले बैंक खातामा छ । मन्दिरमा विशेषगरी दसैँको कोजाग्रत पूर्णिमाका दिन मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।
कास्कीका तत्कालीन राजा कूलमण्डन शाहले खरको झुप्रो बनाई मन्दिर स्थापना भएको इतिहास रहेको तालबाराही मन्दिर गुठी व्यवस्थपन समितिका सचिव धु्रव बरालले बताए ।
“मन्दिर १४४७ सालमा अस्तित्वमा रहेको अभिलेख छ”, सचिव बरालले भने “प्राचीनकालमा माटोको ढिस्कोमा एउटा शिला रहेको र त्यही मन्दिर स्थापनागरी पूजा गरिँदै आएको अभिलेखमा छ ।”
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology