'धन्य छौ आमा तिमी
मलाई यो संसार देखायौ
तिम्रो शिक्षाले
परोपकार गर्न प्रेरणा मिल्यो
सहनशिलताको पाठ सिकायौ
सेवाको भाषा सिकायो
समाजसेवा गर्न प्रेरित ग¥यो
दशधारा दुधसंगै सार्थक जीवन बाच्ने
उपदेश पिलायौ’
यी कविताका सुन्दर हरफहरु हुन्, वरिष्ठ साहित्यकार तथा आख्यानकार देबेन्द्रराज शाक्यका । नेपालको दार्जिलिङ भनी चिनिने र पहाडकी रानी भनेर सम्बोधन गरिने पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा जन्मिएर माध्यमिक र उच्च माध्यमिक शिक्षा तानसेनमै प्राप्त गरी बुटवललाई कर्मक्षेत्र बनाएका शाक्य बुटवलका जीवित इतिहासका रुपमा परिचित छन् । बुटवललाई आफ्नो कर्मक्षेत्र बनाएपछी बुटवलको इतिहासलाई उजागर गरि यसको महत्वलाई प्रचार प्रसार गर्नुपर्छ भन्ने उद्देश्यले बुटवलको ऐतिहासिक धार्मिक साँस्कृतिक, सामाजिक, शैक्षिक क्षेत्रका बारेमा कलम चलाउँदै आएका छन् ।
साहित्यकारको रुपमा परिचय बनाएका शाक्य त्रि.वी बुटवलका अवकास प्राप्त कर्मचारी हुन् । अवकास पछिका दिनहरुलाई घरमै साहित्य साधनामा लगानी गरिरहेका छन् । त्यसो त जागीरे दिनहरुमा पनी उनी साहित्य सिर्जनामा तल्लिन नभएका भने होइनन् । उनी समय मिलाएर साहित्यिक गोष्ठी तथा कार्यक्रमहरुमा सहभागी भइरहन्थे । पहिलेका साहित्यिक कार्यक्रमहरुमा उत्साहित उर्जा बोकेर आउने साहित्यीक स्रष्टाहरु र अहिले प्रविधीसंगै फेरिएका स्रष्टाहरुमा धेरै फरक पाएको शाक्य बताउँछन् ।
बुटवल उपमहानगरपालिका-२ नयाँ सडकमा बस्ने शाक्यले साहित्यलाई समाज सुधारको रुपमा लिने गरेका छन् । उनीसंग संसारमा साहित्यबाटै धेरै परिवर्तन भएको अनुभव पनि छ । शाक्य भन्छन्, ‘एउटा राम्रो साहित्य सृजना हुन साहित्यकारले ठूलो साधना गर्नुपर्दछ ।’ साधनाले मात्र साहित्य सिर्जना सफल हुने उनको विश्वास छ । स्रष्टाहरु भेलमा बग्न नहुने, गहन अध्ययन गर्नुपर्ने अनी मात्र साहित्य सिर्जनामा लाग्नुपर्ने उनी बताउँछन् ।
वि.सं २००६ साल माघ १ गते पाल्पा जिल्लाको तानसेनमा जन्मिएका साहित्यकार शाक्य निरन्तर मौलिक तथा चिन्तनशील लेख तथा रचना मार्फत् समाज सुधारको पक्षमा आफू लागि परेको बताउँछन् । उनले साहित्य भावावेशमा कोरिएका भावनाहरु नभई अन्तस्करणबाट निस्कने भएकाले सबैले सिर्जना गर्न नसक्ने बताए ।
उनले सधै आफूले देखेका भोगेका र समाजमा हुने गरेका सत्य विषय साहित्यले समेट्ने गरेको बताउँछन् । त्यसैले उनका सिर्जनामा पनि यथार्थता भेट्न सकिन्छ । जे उनका हरेक सृजनाका हरफहरुमा पाउन सकिन्छ ।
‘निकै कठिन परिस्थितीमा
शिक्षाको ज्योती फैलाई
आँखा खोल्ने
राजनितिक चेतना जगाई
चेतनशिल बनाउने
सनो ठूलो धनी गरिब नगरी भेदभाव
सबैलाई जागरुक बनाउने
मुठी मुठी महावीरी उठाइ
भयो तिम्रो जन्म
शिक्षा दान गर्ने महावीर पुस्तकालय
रह्यो तिम्रो नाम’
जीवनमा सुःख दुःख दुबै अनुभूति आउने बताउँदै सँधै सकारात्मक कुराहरुले जीवन सहज हुने शाक्य बताउँछन । उनले बी.ए, एल.एल.वि सम्मको अध्ययन गरेका छन् । जीवन चलाउनका लागि उनले बुटवल बहुमुखी क्याम्पसमा ३८ बर्षे जागिरे जीवन बिताएका छन् । उनले बुटवल चिनाउनका लागी 'यो बटौली हो, बुटवलको परिचय पुस्तक २०६१ सालमा प्रकाशित गरे । उनका बैशाख पुर्णिमा २०६१, विश्व शान्तिको शहर लुम्बिनी २०६२, महामानव बुद्ध २०६५, आमा कविता संग्रह २०६८, तथा जीवनका अनुभूतिहरु भाग–१ भाग–२, जीवनीपरक आत्मकथा २०७१, जीवनका अनुभूति भाग–२ अत्यन्तै रुचाइएका कृति हुन् । त्यस्तै बुद्धकालीन केही प्रमुख बिहारहरु २०७०, हाम्रो संस्कार र संस्कृती २०७४ लगायत १९ वटा कृती प्रकाशित भईसकेका छन् । आफ्ना ४ वटा कृती प्रकाशन हुने क्रममा रहेको शाक्य बताउँछन् ।
साहित्यको रसमा रमाएका शाक्यले दीर्घसेवा पदक २०५७ (त्रिभुवन विश्वविद्यालय), राष्ट्रिय शिक्षा पुरस्कार २०५७, श्री जानकी देवी आध्यात्मिक साहित्यकार पुरस्कार २०७४ लगायतका दर्जनौं पदक, पुरस्कार, सम्मान र प्रशंसापत्र पाएका छन् ।
मृत्यु बोधले सिर्जनाका मार्गहरु अबरुद्ध बनाइनु हुन्न भन्ने यथार्थतासंगै ब्युझिरहेका उनका सकारात्मक सोंच सबै वर्ग र तहका लागि राम्रो नमुना बन्दछ । यसको साथै कुराहरु उपदेश र प्रेरणा प्रभावका रुपमा पनि स्वीकार गर्न सकिन्छ । उनी भन्छन् ‘म भित्र रहेको सृजनालाई सदुपयोग गर्ने प्रयत्न गरेको हुँ ।’ प्रत्येक व्यक्ति आदर्शमुखी समाज निर्माणमा अनुकरणीय बनुन् भन्ने मेरो कामना हो । उनले भने, “राजनीतिक, आर्थिक, धार्मिक आदि कारणले व्यक्तिलाई छुट्याउने काम गर्दछ । जीवनलाई एकै ठाउँमा जोड्ने काम गर्दछ ।” उनले जीवनलाई समाज सेवामा समर्पित मन, वचन र कर्ममा एकाकार हुन आग्रह गरे ।
उमेरले धेरैकुरा सिकाएको छ, सबै कुरा पैसा नै हो भन्ने सोंचबाट माथि उठेरनै पुस्तक प्रकाशनमा लगानी गरेका उनी आध्यात्मिक, आख्यानकार, प्रबन्धकार अनुसन्धानदाता, इतिहासकार जीवनीकार दार्शनिक एवम् आध्यात्मिक साहित्यकारको रुपमा परिचित छन् । बाह्य गतिविधिपूर्ण रुपमा ठप्प भएको समयमा आफ्नो कोठाको चार किल्ला भित्र सीमित हँुदा पनि हिम्मत नहारी साहित्य लेखनमै उनले समय बिताएका छन् ।
मुटु रोगले ग्रसित शाक्यलाई अहिले केही सहज भएको छ । मुटु रोगले थलिएपछि अहिले उनी हिंड्डुल गर्न सक्ने भएका छन् । जसले उनको साहित्यप्रतिको लगाव र चाह अझ धेरै बढेको प्रष्ट देखिन्छ । आगामी दिनमा पनि निरन्तर साधनामा लागिरहने र कृतिहरु प्रकाशित गर्ने उनी बताउँछन् । शाक्यकोे यो यात्रामा उनकी धर्मपत्नी धर्मी शाक्यको पनि पूर्ण साथ र समर्थन छ । धर्मीले पनि साहित्यलाई अँगाल्दै अगाडि बढेकी छन् ।
निरन्तर साहित्य साधनामा लाग्ने कर्मठ साहित्यकार शाक्यले समाजका लागि धेरै राम्रा कामहरु गरिरहेका छन् । २०३५ सालमा बैवाहिक बन्धनमा बाँधिएका शाक्य दम्पत्तिका पाँच सन्तान रहेका छन् । साहित्यसंगै उनले बुटवल उपमहानगरपालिकाका उजीरसिंह मा. वि, ज्ञानोदय रात्री मा.वि र सरस्वती आधारभूत विद्यालयका १६ जना गरिब तथा जेहेन्दार बालबालिकालाई प्रत्येक वर्ष छात्रावृत्ति समेत दिने गरेका छन् ।
उनको बिचारमा शिक्षा क्षेत्रमा समाजलाई अगाडि बढाउन सके राज्यले ठूलै फड्को मार्छ । त्यसैले पठनसीपको विकास गराउन आवश्यक छ । अहिलेको यो डिजिटल युगमा मोबाइल, टी.भी. जस्ता कुराको अस्वाभाविक प्रयोग हुँदा युवा पुस्ता तथा बालबालिकामा समेत सृजनात्मक सोंचाई हराउँदै गएको छ । यसप्रति समयमै सजग हुन आवश्यक रहेको उनी बताउँछन् । शाक्य भन्छन् ‘बुटवलको पुरानो महावीर पुस्तकालय बनाउँदा हामी ठूलो सोंचका साथ बनाएका थियौं ।’ अहिले पुस्तकालय बनाएका शाक्य अक्षरसंग खेल्न पाउँदा अति हर्षित छन् । उनी भन्छन्, ‘अहिले यो घरका भित्ताभित्तामा पनि शब्द कोरिएझैँ लाग्छ । जीवनका निराशा, कुण्ठा, अभाव, तनाव सबैलाई व्यवस्थापन गर्ने सीप काल्पनिक लेखन शैलीले दिँदोरहेछ ।’
साहित्य लेखनमा जमेका शाक्यले साहित्यमा भित्रिएका नयाँनयाँ विधामा खोज गर्न, त्यसका बारेमा सिक्न सिकाउन अझै बढी उत्सुकता हुने बताए । पुस्तकालयको किताबले पाठक पर्खिरहेको देख्दा मन अमिलो हुन्छ । आफ्नो घरमानै ठूलो जीवनलाई विलासी साधनले रङ्याउने भन्दा आत्मीक दर्शनको खोजीमा साधना गर्न पाउँदा आफ्ना भावना विचार बुझ्ने छोराछोरी र असल पाठक सहयोगी वातावरण पाउँदा नतमस्तक भएको शाक्य बताउँछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology